‘राजनीतिक अभिष्ट पुरा गर्न राज्य सञ्चालनमा अवरोध नगरौँ’

482
  •  
  •  
  •  

विराटनगर, १७ बैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसवादी दलहरूलाई आफ्नो राजनीतिक अभीष्ट पुरा गर्नका लागि राज्य सञ्चालनमा अवरोध नगर्न आग्रह गरेका छन् ।

शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले मधेसी दलहरूले गरेको आन्दोलनले कालान्तरमा उनीहरूकै लागि प्रत्युत्पादक हुने बताएका छन् । उनले मधेसी दलहरूलाई आफूलाई चित्त नबुझेका कुरा संसदमा राख्न समेत आग्रह गरेका छन् । उनले दलगत स्वार्थका लागि संविधानको गलत ब्याख्या गर्न नहुने भन्दै मधेसी मोर्चासँग वार्ता र सम्वादबाट समस्या समाधान गर्न तयार रहेको बताएका छन् ।

उनले भूकम्पपछिको पुनःनिर्माणलाई तिव्रताका रूपमा अघि बढाउन तथा संविधान कार्यान्वयन गर्नका लागि दलहरूबीच एकताको खाँचो औल्याएका छन् ।

उनले आगामी बजेट उन्नतिको बजेट हुने बताउँदै जनताले बजेटमा नयाँपन पाउने समेत उल्लेख गरेका छन् । बजेटमा देश विकासका लागि नयाँ नीति र कार्यक्रम आउने दावी गर्दै आगामी बजेट पूर्ण रूपमा कार्यान्वयन हुने ग्यारेन्टी भएको समेत दावी गरेका छन् ।

सरकार परिवर्तनको सम्भावनाबारेको जिज्ञासामा प्रधानमन्त्री ओलीले लोकतन्त्रमा सरकार आउने र जाने क्रम जारी रहने भन्दै आफ्नो सरकार पनि स्थायी नभएको बताएका छन् । उनले राम्रो काम गर्नेलाई ताली र नराम्रो काम गर्नेलाई गाली हुनुपर्नेमा राम्रो काम गर्दा पनि आलोचना मात्र भइरहेको भन्दै गुनासो व्यक्त गरेका छन् । उनले आगामी बजेट आएपछि धेरै जना आत्तिने बताएका छन् ।


  •  
  •  
  •