जनप्रदर्शनले राष्ट्रियताविरुद्धको षडयन्त्रलाई विफल पार्छ : ओली

360
  •  
  •  
  •  

kp oliकाठमाडौं, १७ पुस (अाेएनएस) : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन पस्ताव फिर्ता लिन पुनः आग्रह गरेका छन् ।

सरकारले संशोधन विधेयक संसदमा टेबल गर्ने भनिएको अघिल्लो दिन आइतबार अपील जारी गर्दै अध्यक्ष ओलीले वर्तमान संकट समाधानको एउटै बाटो संशोधन विधेयक फिर्ता लिनु र मुलुकलाई निर्वाचनको दिशामा अगाडि बढाउनु रहेको बताएका छन् ।

अविलम्ब तीनै तहको निर्वाचनकाे मिति घोषणा गर्न तथा स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन तुरुन्त बुझ्न सरकारलार्इ अाग्रह गर्दा पनि सरकारले नसुनेकाे अाेलीकाे अाराेप छ ।

‘ सरकारले संविधान कार्यान्वयनको स्पष्ट कार्ययोजना एवम् कार्यतालिका अगाडि सारेमा दिशामा चालिने कुनै पनि कदमलाई सहयोग गर्न हामी तयार छौं,’ जारी अपीलमा भनिएको छ, ‘तर, निर्वाचनलाई अन्यौल र अनिश्चयमा धकेलेर संविधान संशोधनका नाममा गरिने कुनै पनि जनविरोधी र देशघाती काम किमार्थ स्वीकार्य हुन सक्दैन ।’

संविधान संशोधन राजनीतिक दलहरूको मात्रै सरोकारको विषय नभइ आमजनताको चासोको विषय रहेको उल्लेख गर्दे ओलीले संविधानको कार्यान्वयन बिना अधिकारको प्रयोग सम्भव नहुने बताएका छन् ।

संशोधनविरुद्ध एमालेसहितका ९ दलको आह्वानमा पुस २२ गते काठमाडौंमा जनप्रदर्शनमा सहभागी हुन पनि उनले अपील गरेका छन् ।

‘आजको मुख्य काम संविधान कार्यान्वयन हो, संविधान संशोधन गलत छ र जाति–जातिबीच, भूगोल–भूगोलबीच द्वन्द्व चर्काउने कुनै पनि काम मञ्जुर छैन भन्ने जनभावना प्रकट गर्न चाहन्छौं,’ अपीलमा भनिएको छ, ‘यस प्रदर्शनले अँध्यारो कोठाबाट राष्ट्रियता, राष्ट्रिय हित र सामाजिक सद्भावका विरुद्ध भइरहेका षडयन्त्रलाई विफल पार्न निर्णायक भूमिका खेल्ने विश्वास हामीले लिएका छौं ।’


  •  
  •  
  •