ध्रुव, खड्गप्रसाद हुँदै केपी ओली

114
  •  
  •  
  •  

काठमाडौं २५ असार ।
असार २४ – सबै मान्छे सुत्ने बेलामा यो देहाती गाउँका एकजना बृद्ध नयाँ कपडा फेरेर हतार हतार मोजा लगाउँदै थिए । छेउमा सानो हाते झोला पुटुक्क पारेर राखेका थिए । जुत्ता कोठा भित्रै ल्याएर लाउने तयारीमा थिए उनी । सोलारको उज्यालोमा बृद्धको मुजा परेको अनुहार सजिलै देख्न सकिन्थ्यो । ‘खै आइपुगो?,’ यो संवाददातालाई उनले सोधे, ‘धेरैबेर भइसको त पर्खाको ।’

यी बृद्ध अरु कोही नभएर एमालेका अध्यक्ष केपी ओलीका ८५ वर्षीय बुबा मोहनप्रसाद ओली थिए । २१ असारमा केपी आफ्नो पुर्ख्यौली घर पृथ्वीनगर आउने भएपछि आँगनमा भेला भएका सुरक्षाकर्मी र कार्यकर्ताको वास्तै नगरी नयाँ लुगा लगाएर छोराको पर्खाइमा थिए उनी ।

‘अब काठमाडौं आउनु पर्छ बुबा म लिन आउँछु भनेको थियो । त्यही भएर जान ठिक्क परेको,’ भुईंमा राखेको हाते झोला उठाएर ओछ्यानमा राख्दै मोहनले भने, ‘पर्खाउन चाहिँ धेरै बेर पर्खायो ।’

गाउँमा कान्छो छोरा जेपी ओलीसँग खेतीकिसानीको अलावा ज्योतिष काम गरिरहेका मोहनप्रसाद यसपाला सधैं भन्दा बढी नै उत्साही देखिन्थे । भावी प्रधानमन्त्रीका रुपमा छोराको चर्चा सुरु भएदेखि नै उनको उत्साह बढेको थियो । उनले अलि पहिल्यै काठमाडौं गएर छोरालाई आर्शिवाद दिन चाहन्थे । ‘पोहोर साल चाहिँ यसको ग्रह दशा अलि बिग्रिएको थियो,’ केपीतिर लक्षित गर्दै मोहनले भने, ‘यसपाली ग्रह दशा सबैतिरबाट राम्रो छ । पक्का पनि प्रधानमन्त्री हुन्छ ।’

छोरो देशको ठूलो मान्छे हुने कुरा उसको बाल्यकालले संकेत गरेको मोहन सम्झन्छन् । २००८ साल फागुनमा तेह्रथुमको छातेढुंगामा जन्मिएका ओलीलाई चार महिनाको हुँदा कालो सर्पले बेरेको थियो । पानी लिएर आउँदै गरेकी आमाले छोरो मरिसकेको सम्झेर गाउँले गुहारिन् ।‘ बिस्तारै सर्प भाग्यो । ध्रुब चलमलाउन थाल्यो,’ मोहनले अतित सम्झे, ‘सानामा यसलाई ध्रुब भनेर बोलाउथ्यौं । स्कूलमा नाम लेखाउने बेलामा खड्ग प्रसाद लेखाइयो । राजनीतिमा चढ्दै गएपछि केपी भयो ।’ छिमेकीहरुले सर्पले छोडेपछि भनेका थिए रे, ‘यो मान्छे देशको उच्च ओहोदामा पुग्छ ।’

मोहनका अनुसार केपी चार वर्षको हुँदा आमा मधुमायाको मृत्यु भएको थियो । महामारीको रुपमा फैलिएको बिफरले आमाको मृत्यु भएपछि टुहुरा भएका ओलीलाई उनकी हजुर आमा राममायाले मातृवात्सल्य दिएर हुर्काइन् । ‘हजुरआमाकै काख र हेरचाहमा हुर्कियो । जेलमा हुँदा पनि मेरी आमा नातिको मायाले काठमाडौंसम्म भेट्न गइन्,’ मोहन भावुक भए, ‘सारै दु:खले हुर्कियो । १६/१७ वर्ष जेल बसेर झन् दुख पायो ।’

सोमबार साँझ साढे सात बजेतिर केपी दलबल सहित घर पुगे । छोरो आएको पत्तो पाएपछि बुबा जुत्ता लगाएर बाहिर निस्कँदै थिए । केपी पनि बुबा भेट्न कोठा भित्र छिर्दै थिए । ढोकैमा भेट भयो । केपीले ‘दर्शन बुबा । सञ्चै छ,’ भनेर सोधे । मोहनले उत्तर र प्रश्न एकैचोटी गरे ‘म ठिक छु तलाई कस्तो छ ?’ बुबालाई डोऱ्याएर कोठा भित्रै लगे केपीले । बुबालाई छेउमा रोखेर आफन्त र कार्यकर्ता भेटघाटमा लागे ।

‘काठमाडौं किन जान लाग्नु भएको,’ मोहनलाई फेरी सोधियो ।

‘यता गर्मी पनि धेरै भयो,’ मोहनले मुस्कुराउँदै भने, ‘अब मैले फूल टिका र आशिर्वाद पनि दिनु पर्ला जस्तो छ नि ।’

भाइ जेपीका अनुसार उनीहरु १५ कठ्ठा जग्गा खनजोत गरेर जीवन गुजारा गरिरहेका छन् । केपीका एक भाइ र तीन बहिनी छन् । केपीले अक्सर घरमा फोन गरिरहन्छन् । पार्टी अध्यक्ष भएपछि पनि त्यो क्रम नघटेको भतिजी गंगा बताउँछिन् । ‘फोन रिसिभ गर्न भ्याउनु भएन भने राति १२ बजे भएपनि कल ब्याक गर्नुहुन्छ,’ गंगाले भनिन् । करिब २० मिनेट घरमा बिताएका ओलीले घरका सबै कोठाको निरीक्षण गरे । कुन कोठामा को को सुत्छन् भनेर बेलिबिस्तार सोधे भतिजी गंगासँग ।

फकर्ने बेलामा केपीको गाडीमा चढेका कार्यकर्ताले बुबाका लागि सिट खाली गरिदिए । केपी अगाडि सिटमा बसे, पछाडि सिटमा बुबा, जेठी भतिजी गीता र सहयोगी राजेश । गाडीमा चढिसकेका मोहनलाई गाउँले भने, ‘ठुल्दाइको फोन उठ्दैन । अब तपाइलाई फोन गरेर यहाँका समस्या भन्छौं । ठुल्दाइलाई भनेर विकास पठाइदिनु बडाऊ ।’

केपी घरमा आएका बखत अन्य सहयोगीको गाडीमा चढ्न मोहन हत्तपत्त मान्दैनन् । ओलीको सवारीमा सधैं साथ रहने एमालेका एक जना जिल्ला सदस्य भन्छन्, ‘एकपटक केपी कमरेडको गाडी प्याक थियो । मैले मेरो गाडीमा चढौं भनेको त्यस्को गाडीमा सिट छैन रे भनेर कड्किनु भो । अनि एक सिट खाली गरेर केपी कमरेड कै गाडीमा हालियो ।’
कान्तिपुरबाट


  •  
  •  
  •