‘विखण्डनको राजनीति मान्‍दिनँ’

77
  •  
  •  
  •  

काठमडौं ५ चैत ।
के मुलुकको राजनीति बालकोट धाउन थालेको हो? ‘हैन, इस्यु बल्खुबाट पैदा हुन्छन् र बल्खुको प्रमुख सञ्चालक बालकोटमा बस्छ। तर उपयुक्त दृष्टिकोण र अडान बल्खुबाटै निसृत हुन्छ।’

बालकोटस्थित निवासमा अन्नपूर्ण पोस्ट्को एउटा टोलीसँगको वार्तामा एमाले अध्यक्ष केपी ओलीले भने, ‘म बिरामी छु, कसैले ड्याम्म मारे अर्कै कुरा हो तर जिउँदो छँदासम्म ओलीले जातीयता र साम्प्रदायिकतामा आधारित राजनीति र संघीयतालाई अनुमोदन गर्न सक्दैन।’

ठट्टा र ओलीबीचको सम्बन्ध अन्योन्याश्रित छ। त्यसलाई पुष्टि गर्दै उनी भन्छन्, ‘त्यसैले त राति सुत्ने बेला पनि बूढीऔंला मुठीभित्र लुकाएर सुन्नुपर्छ।’

अनि के त अरू कसैको कुनै माग नमान्ने? ‘हैन, हाम्रो सूत्र सबै नेपालीले जित्नुपर्ने, मुलुकविरुद्ध जाने कुरा केही कसैलाई नदिने मात्र हो, त्यसैले जातीयता र साम्प्रदायिकताको राजनीति अनि पहाड र तराईबीचको सम्बन्धविच्छेदको संघीयताविरुद्ध हामी उत्रेका हौं।’ यी विषयमा कुनै ‘गैरनेपाली मित्र या कूटनीतिज्ञहरू’ सँग वार्ता नगर्ने अडान पनि राखे उनले।

एमाओवादी नेता पुष्पकमल दाहालले अक्सर र हालै बाबुराम भट्टराईले पनि दिल्लीमा दोहो:याए, ‘गिरिजाप्रसाद कोइराला र माधव नेपाल १२ बुँदे निर्माण तथा शान्तिप्रक्रियामा सुरुदेखि नै संलग्न भएकाले हाम्रो कुरा राम्रोसँग बुझ्थे र काम गर्न सहज हुन्थ्यो। तर ओली र सुशील कोइरालासँग काम गर्न सहज छैन।’

के भन्नुहुन्छ यसमा? ‘म दाहालजस्तो अनुभवी छैन, २७ वर्षको उमेरदेखि लगातार पार्टी नेतृत्व समाल्ने ६० वर्ष पुग्दासम्म। त्यस्ता नेता उत्तर कोरिया र जिम्बावेमा मात्र छन्। हो उनको तुलनामा अनुभव छैन। तर किन बनाएनन् त उनीहरूले त्यति आदर गरेका गिरिजाप्रसाद कोइरालालाई पहिलो राष्ट्रपति?’

एउटालाई अघि सारेर अर्कोलाई पछार्ने माओवादी राजनीतिको असर समाप्त भएको र अब असान्दर्भिक भएको दाबी गर्दै ओलीले एक प्रतिशतभन्दा बढी जनसंख्या भएका जातिहरूको नाममा संघीयताभन्दा अल्पसंख्यक, लोपोन्मुख र कमजोर जातजातिका लागि विशेष व्यवस्थाबारे सोच्नु आवश्यक भएको बताए।

के ‘समावेशी’ प्रजातन्त्रको विरोध भएन यो? ‘आवश्यकता सहभागितामूलक प्रजातन्त्रको हो’, उनले भने। एमाओवादी र एमालेबीच यति मतभेद देखिँदा संविधान बन्ला त?

र, एमाओवादी मागलाई सम्मान गर्दै के प्रश्नावली समिति विघटन या निलम्बन गर्न एमाले तयार होला त? ‘आज प्रश्नावली समिति र भोलि संविधानसभा खारेज गर्दै जाने? अनि संविधान आउँछ भनेर मान्ने?’ ओलीले प्रतिप्रश्न गरे।

अनि एमाओवादीलाई सन्देश के त? उनले भने, ‘यो मुलुक चिठ्ठामा परेको या जुवामा जितेर हामीले पाएका हैनौं। पुर्खाले चक्कु लिएर तोपसँग भिड्दै सृष्टि गरेको मुलुक हो। त्यत्ति दायित्वबोध सबैले गरे अगाडिको सहकार्य कठिन हुने छैन।’

प्रधानमन्त्री सुशील कोइरालासँग आफ्नो सम्बन्ध सहज रहेको उल्लेख गर्दै उनले भने, ‘संविधान दिएर प्रधानमन्त्रीका रूपमा नेपाली कांग्रेसको महाधिवेशनमा जाँदा उहाँको हैसियत या कद धेरै ठूलो हुनसक्छ।’
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •