पहिचान मान्छु भन्नु बाध्यता थियो : ओली

221
  •  
  •  
  •  

kp-oliकाठमाडौं १९ माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुपहिचानमूलक संघीयतामा जाने निर्णय पार्टीको घोषणापत्रमा राख्नु बाध्यता भएको बताएका छन्। संविधानसभाको चुनावमा उक्त पार्टीले बहुपहिचानका आधारमा संघीयताको मुद्दा सम्बोधन गर्ने घोषणापत्र जारी गरेको थियो।

‘कहिलेकाही अप्ठेरो परिस्थितिमा अप्ठेरो कबुल गरिन्छ,’ आइतबार पोखराका सञ्चारकर्मीसँग कुरा गर्दै  अध्यक्ष ओलीले भनेे, ‘त्यो माओवादीले पहिचान भनेर उत्पात मच्चाएको बेलाको कुरा हो।’ उनले जंगलमा एक्लै हिँडिरहेका बेला कसैले पेस्तोल देखाएर ‘ह्यान्डस्अप’ भन्दा हात उठाएजस्तै गरी बहुपहिचानलाई मान्छौं भनेर घोषणापत्रमा राखेको बताए।

‘बहुपहिचान भनेर हामी जातीय राज्य मान्दैनौं,’ ओलीले भने, ‘देशभरका सयभन्दा बढी जातजातिको पहिचान मान्ने गरी संविधान दिन्छौं र सबैलाई समान अधिकार सुनिश्चित गर्छाैं।’ जातीय राज्य बनाएर कबिला युगमा फर्कने पक्षमा नभइ समृद्ध लोकतान्त्रिक नेपालको यात्रामा आफूहरु रहेको उनले बताए। जातीय आधारमा राज्य बिभाजन गर्दा बाहिरी हस्तक्षेपबिना नै नेपाल नाइजेरिया र रुवान्डाजस्तो गृहयुद्धमा फस्ने उनको भनाइ थियो।

राष्ट्रिय अखण्डताको सच्चा पहरेदार भएर एमाले उभिने बताउँदै ओलीले नेपालले अप्ठेरो परिस्थिति आएका बेला बुद्धि, विवेक र साहस देखाउनुपर्ने धारणा राखे। ‘हामीले त्यही भएर राष्ट्रिय अखण्डताको पक्षमा अडान लिएका हौं,’ उनले भने, ‘एकथरीलाई जातका आधारमा राज्य दिने र अर्काे थरीलाई नदिने अन्याय हुन दिन्नौं।’ नेपाल देशै चल्न गाह्रो भएको अवस्थामा गाउँ जत्रा राज्य बनाएर कबिलातन्त्रमा जाने कुरा अग्रगामी हुन नसकने उनको धारणा थियो। जनताको दिमागमा विष भर्ने प्रयास एमाओवादीले गरिरहेको आरोप ओलीले लगाए।

संविधान लेखनलाई संविधानसभाको प्रक्रियामा लैजान नमानेको एकीकृत माओवादीप्रति लक्षित गर्दै ओलीले उनीहरु सभा बाहिर गए पनि केही नहुने चेतावनी दिए। ‘अहिले नै ६०१ बाहेक २ करोड ७० लाख नेपाली त संविधानसभा बाहिरै छन् नि,’ उनले भने, ‘त्यतिमा मान्छेमा सय जना थपिएर कुनै फरक पर्दैन।’ एमाओवादीले आन्दोलन भनेर कराए पनि उत्पात मच्चाउनेबाहेक उसले केही गर्न नसक्ने ओलीले दाबी गरे।

सहमतिका आधारमा संविधान लेख्न पनि प्रक्रियामा जानैपर्ने ओलीको तर्क थियो। ‘६०१ जनाले नै सहमति जनाउँदा पनि संविधानसभाभित्र पक्षमा हुनेले हुन्छ भन्नोस् र विपक्षमा हुनेले हुन्न भन्नोस् भन्दै पास गर्नैपर्छ,’ उनले अर्थ्याउने प्रयास गरे, ‘टुँडिखेल र भृकुटीमण्डपमा कराएर संविधान जारी गर्न मिल्दैन।’ आफूहरु सहमतिकै पक्षमा रहेको भन्दै उनले एमाओवादीले संविधानसभाबाहिरको शक्तिसँग साथ लिएर संविधान नलेख्ने बाटो रोजेको आरोप लगाए। ‘संविधासभाबाट संविधान लेख्न हुन्न भन्नेसँगको मोर्चाबन्दीको अर्थ के हो,’ ओलीको प्रश्न थियो, ‘संविधान लेख्नुपर्छ भन्ने हो कि लेख्न हुन्न भन्ने हो?’नागरिकबाट


  •  
  •  
  •