काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको नेकपा आधिकारिक भएको दावी गरेका छन् । शुक्रबार प्रवासी नेपाली एकता मञ्चहरुले संयुक्तरुपमा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन आयोगमा निवेदन दिँदैमा वैधानिकता प्राप्त नहुने बताए ।
प्रधानमन्त्री ओलीले पार्टीको वैधानिकता निर्वाचन आयोगबाट नभई जनताबाट प्राप्त हुने पनि बताए । आधिकारिकता नपाउने देखेपछि प्रचण्ड(माधव समूह कागज छातिमा टाँसेर यहाँ छौं भन्ने अवस्थामा पुगेको उनको आरोप छ । प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षको निवेदन रित नपुगेको भनेर फिर्ता गरेको पनि दावी गरे ।