काठमाडौ, ८ माघ (ओएनएस) : एमाले अध्यक्ष केपी ओलीले संविधानसभामा नाराबाजी गरिरहेका विपक्षीहरु प्रति व्यङ्ग्य गर्दै नाराबाजीलाई ‘गुरिल्ला डान्स्’ को संज्ञा दिएका छन् ।
संविधानसभा बैठकमा एमाओवादी सभासदहरुले नाराबाजी गर्दै अबरुद्ध गरेपछि निस्किएका ओलीले भने ‘ भित्र गुरिल्लाहरुको डान्स् हेरिहाल्नुभयो, यो जारी रहेसम्म संविधान निर्माणको काम अघि बढ्दैन । ’
उनले एमाओवादी पार्टी संविधानसभामा रहेसम्म संविधान बन्न असजिलो हुँने बताउँदै भने ‘एमाओवादी पार्टी भएसम्म देशले दुखः पाउछ । ’ उनले विपक्षीलाई अझै पनि सम्झाई बुझाई गर्दै संविधान जारी गर्न कोसिस गर्ने बताए ।
संविधानसभाको बैठक गत सोमबार रातिबाट लागतार अवरुद्ध हुँदै आएको छ । विपक्षीहरुले प्रश्नवाली समिति बनाउने प्रक्रियाको विरोधमा नाराबाजी गरिरहेका हुन् । संविधानसभाको बैठकममा काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रश्नावली निर्माण समितिको प्रस्ताव गर्ने र एमाले प्रमुख सचेतक अग्नी खरेलले समर्थन गर्ने कार्यसुचि छ ।
यसअघि सोमबार राति संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली निर्माण समिति गठन गरियोस् भन्ने प्रस्ताव राख्न कांग्रे्स प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई अनुमति विपक्षी सभासद् रोष्ट्रमतर्फ अघि बढेपछि संविधानसभा हल रणभूमिमा परिणत भएको थियो । त्यसयता संविधानसभाको बैठक अबरुद्ध हुँदै आएको छ ।