मुलुक छिट्टै विकासशील राष्ट्रमा उक्लिनेछ : प्रधानमन्त्री

79
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्ने बताएका छन् ।


तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताए।

योगदान गर्न सक्ने मात्र होइन, अलपत्र, गरीबीको चपेटामा परेका तथा प्राकृतिक हिसाबले वा आफन्त र अभिभावकका अभावमा अलपत्र परेका नागरिकको व्यवस्थापन गर्न संविधानमै विशेष व्यवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संविधानले निर्दिष्ट गरेअनुसार सामाजिक सुरक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याइएको बताए।

फरक प्रसङ्गमा प्रधानमन्त्रीले अभिभावक गुमाएर सडकमा पुग्नुपरेको पीडा बालबालिकाले भोग्नु नपरोस् भनेर सरकारले अभिभावकविहीन बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै आएको बताए ।

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्ने गरी सरकार अघि बढेको पनि प्रधानमन्त्रीको भनाइ छ।

नेपाल दिगो विकास लक्ष्यको उपलब्धि हासिल गर्ने क्रममा रहेको जानकारी दिँदै उनले मुलुक छिट्टै अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका रूपमा उक्लिने बताए।


  •  
  •  
  •