काठमाडौं ३ माघ ।
एमाले अध्यक्ष केपी ओलीले दायाँ हत्केलामा पट्टी बाँध्न थालेको करिब आठ महिना भइसक्यो । सुन्निएको हत्केला र औँलाहरूलाई आंशिक रूपमा छोप्ने गरी बाँधिएको त्यही सेतो पट्टीबारे उनका कार्यकर्तादेखि सर्वसाधारणसम्मले थरी–थरीका टिप्पणी गर्ने गर्छन् । हातमा पट्टी लगाउन थालेको केही महिनासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुँदा ओली थकितजस्ता देखिन्थे । तर, पछिल्लो केही समययता उनी निक्कै जोसिला र आक्रामक देखिएका छन् । त्यही पट्टी बाँधेको हातले माइक्रोफोन समाएर भाषण गर्छन्, त्यही हातले मोबाइल चलाउँछन् । तर, पट्टीभित्र हातको अवस्था के छ भन्ने थोरैलाई मात्र थाहा छ ।
ओलीको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहका अनुसार फंगस इन्फेक्सनले सुन्निँदै गएको दायाँ हत्केला र औँलाहरू निको पार्न तथा थप संक्रमण फैलन नदिन पट्टी बाँधिएको हो ।
उनका अनुसार एक महिनाभित्रमा पट्टी खोलिनेछ । ‘सुन्निएको दायाँ हत्केला तथा औँलाहरू लगभग पुरानै अवस्थामा आइसकेका छन् । ९० प्रतिशत निको भइसकेको छ,’ डा. शाहले भनिन्, ‘अब तीन–चार हप्तामा पट्टी खोलिन्छ होला ।’
सुन्निएका औँला र हत्केलाका घाउ ओबाउने औषधि ओलीले नियमित सेवन गरिरहेका छन् । उनले हत्केलाको एक दिन बिराएर ड्रेसिङ गराउँछन् । ‘त्रिवि शिक्षण अस्पतालमा गएर ड्रेसिङ गराउनुहुन्छ’ ओलीका स्वकीय सचिव रमेश आचार्यले भने, ‘हरेक ड्रेसिङपछि नयाँ पट्टी त फेरिने नै भयो ।’
केही महिनाअघिसम्म असहज लाग्ने गरी सुन्निएको हत्केला र औँलाहरू अहिले पुरानै अवस्थामा आउन थालेका छन् । अभिवादन साटासाट गर्दा वा हात मिलाउँदा पनि देब्रे हात प्रयोग गर्ने ओली अचेल पट्टी बाँधेकै हातले मोबाइल चलाउने, माइक्रोफोन समाउने गर्न थालेका छन् । लामो समयसम्म ओलीलाई औषधि खान र कपडा लगाउन पनि सहयोगी चाहिन्थ्यो । सार्वजनिक कार्यक्रममा सहभागी हुँदा पनि ओलीलाई उनका आफन्त राजेश बज्राचार्यले नियमित औषधि खान सघाइरहेका हुन्थे ।
के भएको हो हातमा ?
ओलीको उपचारमा संलग्न वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहका अनुसार उनको हातमा फंगस इन्फेक्सन भएको हो । यस्तो समस्या जोकोहीलाई पनि हुन सक्छ, तर रोगप्रतिरोधी क्षमता कमजोर भएकाहरूमा बढी समस्या देखिन्छ ।
आठ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरेका ओलीलाई ‘इमिनो कम्प्रोमाइज’ अर्थात् रोगप्रतिरोधी क्षमता घटाउने औषधिहरू चलाइँदै आएको थियो । जसका कारण ओलीको रोगप्रतिरोधी क्षमता एकदमै कमजोर भयो । सोही कमजोरीको फाइदा उठाउँदै फंगसले संक्रमण गर्यो ।
डा. शाहका अनुसार फंगसको संक्रमण ओलीको दायाँ हत्केला मात्रै होइन, पाखुरा र खुट्टामा समेत घाउ देखिएको थियो । तर, अन्यत्रको संक्रमण सजिलै नियन्त्रणमा आएकाले त्यति साह्रो बढ्न पाएन । हत्केलाको संक्रमण भने बल्झिरह्यो । घाउबाट रगत मिसिएको पिप आउन थाल्यो ।
‘हत्केला सुन्निँदै र औँलाहरू राता हुँदै गए । पछि–पछि त घाउसमेत देखापर्यो । रगत मिसिएको पिपजस्तो पदार्थसमेत हत्केलाबाट निकाल्नुपर्यो । पछि बढ्दै जाँदा हत्केलाको अगाडि र पछाडिको भागमा समेत घाउहरू देखा पर्न थाले । संक्रमण बढेर झन्डै नाडीसम्मै घाउ देखियो,’ डा. शाहले भनिन्, ‘तर, अहिले अवस्था फरक छ । उहाँको हातको समस्या ९० प्रतिशत हटिसकेको छ, औँलाहरूको साइज पनि लगभग नर्मल अवस्थामा आइसकेको छ । ३–४ हप्तामा उहाँको पट्टी पनि खोलिदिन्छाै ।’
डा. शाहले फंगसको संक्रमण अरूजस्तो छिटो निको नहुने र रोगप्रतिरोधी क्षमता कम भएका व्यक्तिलाई त वर्षौँसम्म पनि दु:ख दिन सक्ने बताइन् । ‘प्रत्यारोपण गरेको मिर्गाैला बचाउन उहाँलाई रोगप्रतिरोधी क्षमता घटाउने औषधि चलाउनुपर्छ, त्यसको फाइदा फंगसले लियो र इन्फेक्सन भयो,’ डा. शाहले भनिन् ।
ओलीको हातमा समस्या देखिनुमा दुईवटा कारण भएको डा. शाहले बताइन् । पहिलो, फंगस संक्रमण भएकै वेला त्यसको राम्ररी उपचार नहुनु । ‘हात रातो हुँदै सुन्निँदै जाँदा सही औषधि पाएको भए सायद यति बढ्न सक्ने थिएन कि,’ उनले भनिन् । दोस्रो, म्यानेन्जाइटिसको उपचारका लागि बैंकक जाँदा त्यहाँका चिकित्सकहरूले फंगसको संक्रमणप्रति वास्ता गरेनन् । नेपालमा चलाइरहेको औषधि उनीहरूले रोकिदिए । त्यसपछि निको हुनुको सट्टा झन् बल्झियो ।
दिन बिराएर ड्रेसिङ
ओलीको दायाँ हत्केलामा सेतो पट्टी देखिन थालेको धेरै महिना भयो । तर, सेतो भए पनि सफा र चम्किलो देखिन्छ । दैनिक सभासमारोह र मिटिङमा व्यस्त हुने ओलीले अचेल त्यही हातले मोबाइल चलाउने, माइक्रोफोन समाउने पनि गर्छन् । तर पनि, उनको हातको पट्टी सफा देखिन्छ, किन ? ‘उहाँ दिन बिराएर हातको ड्रेसिङ गर्नुहुन्छ, नयाँ पट्टी लगाउनुहुन्छ,’ ओलीका सहयोगी रमेश आचार्यले भने । फंगसको संक्रमण नहोस् भन्नका लागि मात्रै पट्टी बाँधिएको उनको दाबी छ । ड्रेसिङ गर्न ओली दिन बिराएर त्रिवि शिक्षण अस्पताल जाने गरेको आचार्यले बताए ।
उपचारमा संलग्न डा. शाहका अनुसार हत्केलामा देखिएको घाउ अहिले सुक्दै गएको छ । ‘सुन्निँदै जाँदा संक्रमणले घाउसमेत गरायो, त्यसैले रोगप्रतिरोधी क्षमता कम भएको व्यक्तिको कुनै अंगमा भएको संक्रमणले फेरि ठूलो रूप लिन पनि सक्छ । पहिले हत्केलाको अगाडि र पछाडिको पूरै भागमा घाउ थियो, अहिले बाहिरी भागमा एकदमै सानो सुक्दै गरेको घाउ मात्रै छ,’ डा. शाहले भनिन्।
नयाँपत्रिकाबाट