प्रधानमन्त्री ओली आन्तरिक छलफलमा

55
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज आन्तरिक छलफलमा जुटेका छन् । नेकपा स्थायी समिति बैठकमा राजीनामा माग गरिएपछि प्रधानमन्त्री ओलीले अहिले मन्त्री र केही स्थायी कमिटी सदस्यसँग प्रधानमन्त्री निवास बालुवाटारमा परामर्श गरिरहेका छन् ।

फाइल तस्बिर

मंगलबारको स्थायी कमिटी बैठक अघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरेका थिए ।

आजको स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रधानमन्त्रीले आफु निकट नेता र मन्त्रीसँग परामर्शमा जुटेका हुन् ।

स्थायी कमिटी बैठक आज एघार बजे बस्दैछ । मंगलबार पार्टीको स्थायी समिति बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेका थिए ।

ओलीले सरकार र पार्टी दुवै चलाउन असफल भएको भन्दै शीर्षसहित अरु धेरै नेताहरुले दुवै पदबाट राजीनामा दिन माग गरेका हुन् । उनीहरुले प्रधानमन्त्रीले आफूलाई दिल्लीले हटाउन खोजेको अभिव्यक्तिको पनि पुष्टि गर्न माग गरेका छन् ।

केही दिनअघि प्रधानमन्त्री ओलीले दिल्ली र नेपालका केही शक्तिले आफूलाई हटाउने षड्यन्त्र गरेको बताएका थिए । हिजोको बैठकमा कोरोना भाइरसविरुद्ध सरकारले गरेका काम र सीमा अतिक्रमणको विषयमा बोल्ने कार्यसूची रहे पनि त्यो विषयमा छलफल हुन सकेन ।

साढे दुई वर्षदेखि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओली स्वेच्छाचारी ढंगले अघि बढेको असन्तुष्ट नेताहरुको भनाइ छ ।


  •  
  •  
  •