५८ वर्षदेखि हाम्रो जमिन खोसिएको छ, त्यो फिर्ता ल्याउँछौं : प्रधानमन्त्री

201
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा सच्याए वापत् आफूलाई पदबाट हटाउन भारत र नेपाल भित्रैका शक्तिहरु लागिपरेको बताएका छन् । मदन भण्डारी फाउण्डेसनद्वारा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा उनले नक्सा छापे वापत प्रधानमन्त्रीबाट हटाउने नसोच्न चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले नयाँदिल्लीका मिडिया, वौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन के–के भइरहेको छ भन्ने देखाइरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीमा बसिरहन मन नभएको बताउँदै खोसिएको जमिन फिर्ता गर्न खोजेको र आफूले कुनै गल्ति नगरेको’ पनि स्पष्ट पारे । उनले नेपालले अरुको जमिन हस्तक्षेप नगरेकाले त्यो जमिन फिर्ता गरेरै छाड्ने पनि बताए ।

भारतले नबनाऊ भन्दा भन्दै संविधान बनाएको र त्यसकै कारण नाकाबन्दीको सामना गरेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भारतवेष्ठित र खुम्चिएको रहेको परिस्थितिलाई आफुले परिवर्तन गर्न खोजेको बताए ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा चीनसँग पारवहन सम्झौता गरेपछि पहिलो कार्यकालमा हटाइएको स्मरण समेत गरे । यातायात र पारवहनमा एक देशबाट मात्रै छेकिएर बस्नु पर्दैन भनेर आफुले चीनसँग यातायात तथा पारवहन सन्धि गरेको उनको भनाइ छ ।

सो सम्झौताले नेपाललाई नयाँ उचाइमा पुर्‍याएको प्रधानमन्त्री ओलीले दावी गरे । प्रधानमन्त्री ओलीले साम्प्रादायिकताका आधारमा विग्रह पैदा गर्नेहरुलाई मदन भण्डारीले एकतामा बदल्ने प्रयास गरेको र त्यही विचारबाट चलेको पार्टीलाई कमजोर नआक्न सुझाव दिए ।

‘खोसिएको जमिन फिर्ता ल्याउँछौं’

प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र ५८ वर्षदेखि खोसिएकाले फिर्ता ल्याउने बताएका छन् । उनले आफ्नो जमिन खोसिएको छ, फिर्ता ल्याउनुपर्छ भनेर नेपालले कुनै गल्ती नगरेको बताए ।

उनले भने “तपाईंले सुन्नुभएको होला हप्ता–पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुन्छ, गरिन्छ । भारतीय मिडियाको बहस, त्यहाँका बुद्धिजीवीहरूको कुराकानी सुन्नुभएको होला । कसरी भारतको राज्य संयन्त्र, अचम्मसँग सक्रिय छ । लडाइँमा हामीले हार्‍यौं । हाम्रो सीमा अलि खुम्चियो । हामीले १८२६ को मार्चमा अन्तिम सम्झौतामा दस्तखत गर्‍यौं, त्यसको सीमामा हामी खुम्चिएर बस्यौं ।”

नेपालका नेताहरू पनि बहसमा लागेको भन्दै आश्चर्यचकित भए । “तपाईंहरूले सुन्नुभएको छ, कतिपय पार्टीका नेताहरू उता (लिम्पियाधुरा क्षेत्र, कुटी, नाभी, गुञ्जी) जनसंख्यासँग हाम्रो पहुँच कटेको छ । १९६२ देखि सेना राखेर उता जानै दिएको छैन । त्यहाँका जनतासँग सम्पर्कै दिएको छैन । उताका जनताका लागि केही गर्नै दिएको छैन । नागरिकता कसको छ रु रासनकार्ड कसको छ भन्ने प्रश्न नेपालको नागरिकताधारीहरूले उठाइरहेका छन्,” उनले भने ।

खल्तीमा नागरिकता नेपाली, तर्क अरूको पक्षबाट गरिरहेको छ भन्दै आश्चर्य पनि व्यक्त गरे । “हामीले सन् १९६२ देखि उपयोग गर्न पाएनौं । ५८ वर्षदेखि हाम्रो जमिन खोसिएको छ, त्यो फिर्ता ल्याउन खोज्यौं, अरूको जमिन दाबी, अतिक्रमण हस्तक्षेप गरेको होइन । त्यसकारण हामीले कुनै गल्ती गरेका छैनौं । तर, नेपालकै नेताहरू लागेका छन् । बहस चलेका छन् । केपी ओलीलाई नहटाई हुँदैन,” उनको भनाइ थियो ।


  •  
  •  
  •