राष्ट्रपतिबाट संविधान संशोधन विधेयक प्रमाणीकरण, अब निशान छापमा नयाँ नक्सा

244
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी हुन् ।
अब नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा रहनेछ ।

प्रतिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रिय सभाले बिहीबार नै सर्वसम्मतिले पारित गरेको थियो ।

राष्ट्रिय सभाबाट पारित भई पुनः प्रतिनिधि सभामा पुगेको विधेयकलाई बिहीबार नै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पठाएका थिए ।

सरकारले जेठ ५ गते लिम्पियाधुरासहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषद‍्बाट पास गरेको थियो ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो । त्यसको दुई दिनपछि जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो ।

प्रतिनिधि सभामा समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरा नेपालको हो भन्ने तथ्य र प्रमाण नपुगेको भन्दै संशोधन विधेयक दर्ता गरेकी थिइन् । जसलाई सभामुख सापकोटाले अस्वीकृत गरिदिएका थिए ।


  •  
  •  
  •