एमसीसी पढेका मान्छे मैले भेटिनः प्रधानमन्त्री

236
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहायता अनुदान प्रस्ताव एमसीसी पढेको मान्छे नै नदेखेको बताएका छन् ।

राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘मान्छेहरूले पढे हुन्थ्यो नि । लहैलहैमा लागेको छ । देशमा विकास हुन लाग्यो भन्ने चिन्ता हो ?’

उनले अहिले केही–केहीले हल्ला चलाएको भन्दै भने, ‘पढ्न अल्छी लाग्छ कि के हो ? एमसीसी पढेका मान्छे त्यति भेटिनँ ।’

प्रधानमन्त्री ओलीले एमसीसी सम्झौता खोजेर ल्याएर पढ्न पनि आग्रह गरे । ‘पढ्नेभन्दा हल्लाका भरमा कुद्‍ने र जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन हो ? खुट्टाले टेकेर हिँड्न छाडेर टाउकाले टेकेर हिँड्ने, हातले टेकेर खुट्टा ठाडो पारेर हिँड्ने अभ्यास गर्न किन जरुरी छ ? खुट्टाले टेकेर हिँड्नुपर्छ’ उनले भने, ‘खुट्टाले टेकेर हिँड्ने भनेको जे त्यसमा प्रबन्ध छ, त्यो प्रबन्ध पढेर ठीक बेठीक यहाँयहाँ छ भन्नुचाहिँ एउटा कुरा हो ।’

प्रधानमन्त्री ओलीले लहैलहैमा लौ अमेरिकी सेना आउने भन्दै भ्रममा पर्ने गरेको बताए । उनले भने , ‘कागले कान लग्यो भनेर भन्दा, लाँदा त दुख्छ होला नि । दुख्या छैन भने होइन होला नि भन्ने थाहा पाउनुपर्‍यो नि पहिला । दुख्या छैन तै पनि सुटुक्कै लगेछ कि भन्ने हो भने पनि छाम्नुपर्‍यो नि, मेरो पनि कान छ कि छैन भनेर ? दुख्यो दुखेर वास्ता नगर्ने, छ कि छैन नछाम्ने लहैलहैमा कुद्ने यो प्रवृत्ति अचम्म लाग्छ ।’

यस्तै प्रधानमन्त्री ओलीले साउनसम्ममा कोरोना नियन्त्रण गर्न सकिने दाबी गरे । उनले भने, ‘बाहिरबाट आउने नागरिकको व्यवस्थापन गर्न सक्यौँ भने अहिले बढेर गए पनि साउनसम्म नियन्त्रणमा लिन सक्छौं ।’ संक्रमितहरूको आउनेक्रम घटेर गएकाले नियन्त्रण गर्न सकिने अवस्था देखिएको प्रधानमन्त्रीको दाबी छ ।


  •  
  •  
  •