पकड जमाउँदै ओली

381
  •  
  •  
  •  

Kp Vs Madhavकाठमाडौं १६ पुस ।
नवौं महाधिवेशनयताका केही महिना अध्यक्ष केपी शर्मा ओली पार्टीभित्रै कमजोर देखिन्थे। आन्तरिक विवादमा प्रमुख नेता अल्भि्करहँदा उनीमाथि पार्टी व्यवस्थापनकै मुद्दा पेचिलो थियो।
बिस्तारै समय कोल्टिएको छ।

जिल्ला अधिवेशनहरुमा केही कमजोर देखिए पनि पछिल्लो समय अध्यक्ष ओलीको अवस्था पार्टीमा मात्र होइन, राष्ट्रिय राजनीतिमै पकडदार बन्दैछ। नेतृत्व व्यवस्थापनमा सफलतासँगै उनले आफूलाई केन्द्रीय राजनीतिमा शक्तिशाली बनाउँदै लगेका छन्।
चौथो केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी, पोलिटब्युरोको सर्वसम्मत गठनपछि अध्यक्ष ओलीको राजनीतिक पकड बलियो देखिएको हो। पार्टीभित्र विवाद मिलाएपछि उनलाई राष्ट्रिय राजनीतिमा सक्रिय हुन समय मिलेको छ।

‘पछिल्लो समय अध्यक्षले आफ्ना मुद्दालाई स्पष्टसँग राष्ट्रिय राजनीतिमा लैजान सक्नुका पछाडि पार्टीभित्र नेताहरुबीचको मेलमिलाप नै प्रमुख कारण हो,’ सचिव योगेश भट्टराईले नागरिकसँग भने, ‘अध्यक्षसहित अन्य शीर्ष नेताबीच समन्वयका कारण आन्तरिक व्यवस्थापनमा खर्चिनुपर्ने ऊर्जा राष्ट्रिय राजनीतिमा प्रयोग गर्न पाउनुभएको छ।’

ओलीले स्थायी कमिटी र पोलिटब्युरोमा माधव नेपाल पक्षलाई सन्तुष्ट त बनाएका छन् नै, आफूले स्पष्ट बहुमत जुटाउनसमेत सफल भएका छन्। २३ सदस्यीय स्थायी कमिटीमा वरिष्ठ नेता झलनाथ खनाललाई तटस्थ मान्दा महाधिवेशनमा ओलीको प्यानलबाट प्रतिस्पर्धा गरेका १२, नेपाल प्यानलका ९ सदस्य छन्।
पोलिटब्युरोमा नेपाल पक्षका २७ र ओली पक्षका ३४ सदस्य छन्।
पोलिटब्युरो सदस्य रामनाथ ढकालले अहिले पार्टी नेतृत्व व्यवस्थापन सहज भएको बताए। ‘महाधिवेशनबाट पारित प्रतिवेदन सर्वसम्मत रुपमा छापिएर आइसकेको छ। नेतृत्व व्यवस्थापन पनि यसपटक सहज रुपमा सम्भव भएको छ,’ ढकालले नागरिकसँग भने, ‘अध्यक्षको सहज भूमिकामा अन्य शीर्ष नेताको भूमिका पनि कारक हो।’ नेता ढकालले पार्टीभित्र सहज वातावरण निर्माण गर्न वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालको भूमिका महŒवपूर्ण भएको बताए।
पछिल्लो समय तीनै नेताको संविधानका अन्तर्वस्तु, पार्टीको आन्तरिक विषयमा एकै प्रकारको धारणा आउने गरेका छन्।
सचिव भट्टराई ‘मिल्दा मात्रै राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न सक्ने बुझेर नेताहरु एकतावद्ध भएको’ बताउँछन्। ‘अहिले संविधान निर्माणमा अन्य पार्टीको तुलनामा एमालेको बढी जोड हुनुको कारण पनि त्यही हो,’ उनले भने।
नयाँ संविधानको अन्तर्वस्तुमा सबैभन्दा धेरै विवादित राज्य पुनःसंरचनामा पनि एकल जातीयता हुनुहुँदैन भन्ने पक्षमा एमालेभित्र मतैक्य छ।
आठौं केन्द्रीय कमिटीको अन्त्यतिर राज्य पुनःसंरचना विवादमा समान धारणा रहँदै आएको छ। आठौं महाधिवेशनपछि तेस्रो वरीयताको विषयले लामो समय विवाद उत्पन्न गरेको थियो। महाधिवेशन सम्पन्न भएको तीन वर्षपछि ओलीलाई तेस्रो वरीयता दिएपछि विवाद समाधान भएको थियो।
यसपटक नवौं महाधिवेशन सम्पन्न भएलगत्तै प्रतिस्पर्धी नेता माधवकुमार नेपाल तेस्रो वरीयतामा रहने घोषणा गरेर ओलीले पार्टीमा सन्तुलन मिलाउने प्रयास गरेका थिए।
कार्यविभाजन, केन्द्रीय कमिटीमा हुने मनोनयन र राजनीतिक पदमा हुने बाँडफाँटको विषय बाँकी नै रहेकाले नेताहरुबीच अहिले कायम एकता रहिरहन्छ/रहँदैन भन्ने हेर्न बाँकी नै छ। ‘ती विषयलाई पनि सहज र सहमतिमा गर्न सकिन्छ भन्ने लाग्छ,’ सचिव भट्टराईले भने।
केन्द्रीय सदस्य सूर्य थापा ‘पछिल्लो समय सन्तुलित ढंगले पार्टी सञ्चालन भएको’ बताउँछन्। ‘अध्यक्षमाथि असहिष्णु भनी लाग्दै आएको आरोपलाई व्यवहारबाटै जवाफ दिने काम भएको छ,’ थापाले भने।
जसरी पार्टीको केन्द्रीय राजनीतिमा ओलीको पकड हाबी हुँदै गएको छ, जिल्ला तहमा भने त्यस्तो देखिँदैन। साउन १ गते ओलीले अध्यक्षको जिम्मेवारी सम्हालेयता ताप्लेजुङ, पाँचथर, इलाम, सर्लाही, रौतहट, पर्वत, बाँके, सुर्खेत, जाजरकोट र दैलेख गरी १० जिल्लाका अधिवेशन भए जहाँ प्याननलकै आधारमा नेतृत्व चुनिए। यी जिल्लामा नेपाल पक्षको बहुमत देखिएको छ। नागरिकबाट


  •  
  •  
  •