सर्लाही, ७ पुस (ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
आइतबार प्रचण्डले ओलीबिरुद्ध आक्रोसपूर्ण भनाई सार्वजनिक गरेको थिए । त्यसको प्रतिक्रिया स्वरुप ओलीले पनि सोमबार प्रचण्डबिरुद्ध ब्यङ्यपूर्ण भनाई सार्वजनिक गरेका छन् ।
अध्यक्ष ओलीले सोमबार सर्लाहीमा भएको एक कार्यक्रममा प्रचण्डलाई कमिलाले टोकेको टिप्पणी गरेका छन् । प्रचण्डलाई कमिलाले टोकेपछि बुरुक्क उफ्रेको देखेर आफू अचम्मित भएको समेत ओलीले बताए ।
आइतबार प्रचण्डले ओलीबिरुद्ध कडा अभिव्यक्ति दिएपछि ओलीले त्यसको जवाफमा यस्तो प्रतिक्रिया दिएका हुन् । आइतबार प्रचण्डले पहिचान र जातीयताको कुरा सन्न नचहाने ओली कुनै महाराज वा देशको ठेकेदार नभएको भन्दै आक्रोश ब्यक्त गरेका थिए ।
सोमबार सर्लाहीमा प्रेस चौतारीले गरेको कार्यक्रममा ओलीले रक्तपात गर्ने प्रचण्डको धम्कीको कुनै अर्थ नरहेको बताए । ‘प्रचण्डले आन्दोलन, रक्तपात जस्तो धम्की दिइरहेको छन्’ ओलीले भने ‘त्यसको कुनै अर्थ छैन, कमिलाले टोकेजस्तो बुरुक्क उफ्रेको देखेर म छक्क परेको छु ।’
उनले जस्तोसुकै अवरोधहरु पन्छाएर भएपनि माघ ८ गते मुलुकमा नयाँ संविधान जारी हुने दाबी गरे । सकेसम्म सहमतिको अन्तिम प्रयास गर्ने र नभए प्रकृयाबाटै भएपनि माघ ८ भित्रै मुलुकलाई नयाँ संविधान दिने उनले बताए ।
सहमतिबाट कुनै पनि मुलुकमा संविधान नआएको ओलीको तर्क छ । ‘२–३ जना नेता बसेर सहमतिबाटै संविधान जारी गर्ने भए संविधान सभाको निर्वाचन किन गर्नु प¥यो ?’ एमाले अध्यक्ष ओलीले प्रश्न गरे । एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलीय मोर्चा संविधान आउन नदिनकै लागि गठन गरिएको आरोप पनि उनले लगाए ।