काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाइ तत्काल लागू गर्न निर्देशन दिएका छन् ।
सोमबार गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई बोलाएर प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।
गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशक लगायतको समूहलाई प्रधानमन्त्रीले संयुक्त रुपमा निर्देशन दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले पछिल्लो पटक सडक दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको बताए ।
उनले यसलाई तत्काल घटाउनेगरी पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिए ।
‘सिन्धुपाल्चोकको सडक दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढेँ, बिरामी अवस्थामा रहेर हो कि, म निकै भावुक भएँ । हिजो खाना खान र सुत्न पनि सकिनँ’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता दुर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको छ । त्यसले कति वृद्धवृद्धा र बालबालिकालाई बेसहारा बनाएको छ । यसलाई तत्काल रोक्ने कार्ययोजना बनाउनु प¥यो ।’
प्रधानमन्त्री ओलीले निजी सवारी साधनको तुलनामा सार्वजनिक यातायात दूर्घटना हुँदा ठूलो जनधनको क्षति हुने गरेको भन्दै सार्वजनिक यातायातका चालकहरुलाई तालिम, लाइसेन्सको पुनर्परीक्षण, सडक पूर्वाधार प्रयोगको अनुमतिमा गम्भीर परीक्षण गर्न निर्देशन दिए ।
‘सिटभन्दा बढी यात्रु राख्न नदिने, छतमा यात्रु राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात सञ्चालनका लागि योग्य नभएका सडकमा सञ्चालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेजस्ता काम तत्काल गरिहाल्नुस्’, प्रधानमन्त्री ओलीले भने, ‘सडक पूर्वाधारको स्वीकृति गर्दा डबल लेनभन्दा कमको संरचना स्वीकृत नगर्नुस्, सडकको डिलमा ग्रास ब्यारियार अनिवार्य निर्माण गर्ने व्यवस्था गर्नुस्, सडकमा स्पिडब्रेकरको अनिवार्य व्यवस्था गर्नुस्, बस चालकको कक्षमा ध्यान अन्तै मोड्ने खालका मानिस तथा समग्री छन् भने हटाउने स्पष्ट नियम बनाउनुस् ।’
हवाइ दुर्घटनामा जस्तै हरेक सडक दुर्घटनाका कारणहरुको छानबिन गरी प्रतिवेदन तयार गर्न र त्यसै अनुरुपको सुधार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए ।
प्रधानमन्त्रीको निर्देशन अनुरुप यस आर्थिक वर्षमा भएका सडक दुर्घटनाको छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता गृहमन्त्रालयले व्यक्त गरेको छ ।
छलफलमा गृहसचिव प्रेमकुमार राईले सडक दुर्घटनाको वर्तमान अवस्था, न्यूनीकरणका उपाय र रोकथामका लागि भएका प्रयासबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै भैतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की र ट्राफिक प्रहरी प्रमुख भीम ढकालले पनि आ–आफ्नो विभागबाट भएका प्रयासबारे ब्रिफिङ गरेका थिए ।