माघ ८ अघि सरकार परिवर्तन होइन, बिस्तारमात्रः ओली

103
  •  
  •  
  •  

kpoli 13

काठमाडौं २१ मंसिर ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले माघ ८ अघि सरकार परिवर्तन नभई अहिलेकै सरकारलाई बिस्तार गर्न चाहेको बताएका छन् । संविधान जारी गरी त्यसको सहज कार्यान्वयनका लागि यो प्रस्ताव विपक्षी दलहरुसँग राखेको उनले स्पष्ट गरे ।

‘मेरो कुराले प्रधानमन्त्री पनि कता कता झस्किनु भएछ । अहिले सरकार परिवर्तन होइन बिस्तार गर्ने हो,’ अध्यक्ष ओलीले शनिबार अन्तर्वार्तामा भने, ‘संविधान जारी गरेर मात्र हुदैन, त्यसको सहज कार्यान्वयन हुने वातावरण पनि चाहिन्छ ।’ माघ ८ पछि भने काग्रेस एमालेको पूर्वसहमति र तत्कालिन परिस्थितिअनुसार अघि बढ्ने ओलीले उल्लेख गरे । सरकारको नेतृत्व लिन खोजेको हो भन्ने जिज्ञाशामा ओलीले अहिले संविधानमा मात्र ध्यान दिइरहेको जवाफ दिए ।

एमालेले राष्ट्रिय सहमतिको सरकार बनाउने भन्दै केही दिनदेखि एमाओवादी र मधेसी मोर्चामा आबद्घ दलहरुलाई सरकारमा सहभागीताका लागि प्रस्ताव गरिरहेको छ । ओलीले मधेसी मोर्चाका नेताहरुसंग संयुक्त र छुट्टै भेटिरहेका छन् । शुक्रबार मधेसी मोर्चाका सबै नेताहरुसंग आफ्नै निवासमा दिवाभोजसहितको छलफल गरेका ओलीले शनिबार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँग साढे दुई घण्टा एक्लै कुराकानी गरे । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईसँग पनि उनले एक्ला-एक्लै कुराकानी जारी राखेका छन् ।

अध्यक्ष ओलीले माघ ८ मा संविधान जारी नभए संविधान विरोधीको मनोबल बढ्ने र स्थिति झन् भयावह हुने आंकलन गरे । संविधानका पक्षधरको मनोबल उच्च राख्न र आन्दोलनका उपलब्धीहरु संस्थागत गर्न पनि संविधान समयै जारी हुनु आवश्यक रहेको ओलीको जोड थियो । यसका लागि संघीयतालगायतका जटिल विषयलाई थाती राखेर भए पनि संविधान जारी गर्न सकिने विकल्प उनले अघि सारे ।

‘प्रदेशको संख्या, सीमालगायतका विषय संघीय आयोगलाई जिम्मा लागउन सकिन्छ,’ अध्यक्ष ओलीले भने, ‘त्यसलाई संविधान जारी भएपछि रुपान्तरिक हुने संसदले अनुमोदन गर्न सक्छ ।’ उनले संसारमा कहि पनि सर्वसम्मति र कहिल्यै संशोधन गर्न नपर्ने खालको संविधान जारी नभएको ठोकुवा गरे । त्यसैले सर्वसम्मति र सबै विषय पूर्ण हुनेगरी संविधान जारी गर्न नसकिने ओलीको भनाई थियो । ‘परिपूर्ण, हेरफेर गर्न नपर्ने, संशोधन गर्नु नपर्ने खालको कुनै समयले केही नगर्ने ‘कालजयी’ संविधान कही बन्न सक्दैन,’ ओलीले भने । सहमतिकै लागि एमाओवादीका अनेकौ अनुचित कुराहरुमा पनि सम्झौता गरेको उल्लेख गर्दै ओलीले अझै पनि उनीहरु भिरकै बाटो हिड्न खोजेको टिप्पणी गरे ।

संघीयताको सम्बन्धमा तराईका झापा, मोरङ, सुनसरी, चितवन, कैलाली र कञ्चनपुरको भुगागलाई लिएर बढी विवाद भएको ओलीले बताए । तराईको भुभागलाई पहाडमा गाँसिनै नदिने सोचका कारण समस्या भइरहेको ओलीको भनाई थियो । राजधानी र पहाडका क्षेत्रलाई धेराबन्दी गर्ने उद्देश्यअनुरुप एक मधेस प्रदेशजस्तो अडान प्रस्तुत भइरहेको ओलीको आरोप थियो । उनले संविधानसभामा एमाओवादीलाई संवाद समितिको सभापति दिएर ठूलो गल्ली गरेको बताए । एमाओवादीका नेता बाबुराम भट्टराई पार्टीको कार्यकर्ताको शैलीमा मात्र प्रस्तुत हुँदा तीन महिना ढिला भएको ओलीको आरोप थियो । ‘केही कारण माघ ८ मा संविधान बनेन भने एमाओवादीले तीन महिना अल्झाएका कारण नबन्ने हो,’ ओलीले भने ।
कान्तिपुरबाट


  •  
  •  
  •