काठमाडौं, २६ जेठ (ओएसएस) । आगामी नवौंको मिति नजिकिँदै जाँदा एमालेमागुटगत भेला गर्ने होडवाजी नै चलेको छ । यसैक्रममा संसदीय दलका नेता केपीको उपस्थितमा सोमबार राजधानीको भृकुटी मण्डपमा ओली समुहको भेला भयो । भेलालाई सम्बोधन गर्ने सबै नेताहरु वरिष्ठ नेता माधवकुमार नेपालप्रति निकै आक्रमरुपमा प्रस्तुत भए ।
अध्यक्षका आकांक्षी ओलीले अर्का आकांक्षी नेपाललाई भने, ‘म अस्वस्थ भएर अस्पतालमा भर्ना भएको बेलो युद्धको घोषणा गरेजस्तो व्यवहार गरियो ।’ उनले युद्धको सामान्य सिद्धान्त विपरित नेपालले गलत संस्कृतिको विजारोपण गरेको आरोप लगाए । ओलीले सात वर्ष अगाडि मृगौला प्रत्यारोपण गरेर अस्वस्थ भएको अवस्थामासमेत उग्रबामपन्थ विरुद्धको संघर्षको नेतृत्व गरेको दाबी गरे । उग्रबामपन्थले राज्यसत्ता जर्बस्ती कब्जा गर्न खोज्दा उ विरुद्ध संघर्ष गरेर ठिक ठाउँमा ल्याएको उनको दाबी छ ।
ओलीले राजा बलियो भएको बेला राजासँग आन्दोलन गरेको कांग्रेस बलियो भएको बेला कांग्रेससँग आन्दोलन गरी लोकतन्त्रको पक्षमा काम गरेको दाबी गरे । उनले नेपाली जनता, सुभेच्छु र सरकारको सद्भावले ठिकभएको भन्दै बाँकी जीवन जनतामा अर्पण गर्ने बताए ।
गृहमन्त्रीसमेत रहेका उपाध्यक्ष बामदेव गौतमले नवौं महाधिवेशनमा नेता नेपाल ऐतिहासिक रुपमा पराजित गर्नुपर्ने बताए । नेपालले पदलोलुप चरित्र देखाएको भन्दै उनले जेल नेल र यातना भोगेको व्यक्तिलाई मौका दिनुको साटो भाँजो हालेको दावी गरे । ‘माधव नेपाल पार्टीभित्रको चुनावमा कहिल्यै पराजित हुनुभएको छैन, अबको चुनावबाट कहिल्यै नउठ्ने गरि ऐतिहासिक रुपमा पराजित हुनुपर्छ’ गौतमले भने । उनले नेतृत्व सर्वसम्मत नेतृत्व चयन हुने वातावरण बनेको बेला नेपालले भाँजो हालेको तर्क गरे ।
निकै लामोसमयसम्म नेपालसँग निकट रहेका महासचिव ईश्वर पोखरेल नेपालको आलोचना गर्नेमा झन उग्र देखिए । उनले लामो सयमसम्म नेतृत्वमा बसेर पुनः नेतृत्वमा जाने कोशिस गरेको भन्दै नेपालको आलोचना गरे । उनले अब नेतृत्व परिवर्तनको विकल्प नभएको तर्क गर्दै नवौं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताए । उनले योगदान र सैद्धान्तिक दृष्टिकोणका आधारमा अबको अध्यक्ष केपी ओली हुनुपर्ने बताए । महाधिवेशनको बेलासम्म माधव नेपालले प्रतिस्पर्धा छोड्ने दाबी गरे । नेतृत्व परिवर्तनका लागि कुरा उठाए पनि त्यसलाई व्यवहारमा लागू गर्न सकिएको भन्दै एमालेको नेतृत्व फेर्ने सहि बेला अहिले आएको पोखरेलको दावी छ ।
आगामी महाधिवेशनमा उम्मेदवारी घोषणा गर्ने अपेक्षा गरेको भएपनि ओली पक्षले उम्मेदवारी भने घोषणा गरेन् । कार्यक्रममा ओली पक्षीय कार्यकताको बाक्लो उपस्थिति रहेको थियो । नेता ओली भने कार्यक्रमको अन्तिमतिर कार्यक्रमस्थलमा आएका थिए ।
सोमबारै उम्मेदवारी घोषणा गर्ने बताइए पनि उम्मेदवारी भने घोषणा गरिएन ।