संविधानले बृहत्तर राष्ट्रिय हितलाई समेटेको छ : प्रधानमन्त्री

256
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज भएको स्पष्ट पारेका छन् ।

संविधान दिवश/राष्ट्रिय दिवश मूल समारोह समितिको बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान ल्याउनका लागि अग्रजहरुको संघर्ष र बलिदानको महत्वपूर्ण देन रहेको बताए ।

‘जीउ ज्यानको मात्र बलिदानी हैन अन्य थुप्रै प्रकारका बलिदानीको योग हो संविधान’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौं । त्यसकारण यसको संरक्षण कार्यन्वयन गर्ने जिम्मा हाम्रो हो ।’

प्रधानमन्त्री ओलीले संविधानले बृहत्तर राष्ट्रिय हितलाई समेटेको बताए । ‘संविधान सहमतिको दस्तावेज हो । यसले हरेक व्यक्तिका आकांक्षालाई जस्ताको तस्तै पुुरा गर्दैन तर बृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘संविधानले नेपालको गौरवपूर्ण परम्परा र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई समेटेको छ ।’

प्रधानमन्त्री ओलीले संविधान दिवश नेपाली जनताको उत्सवको दिवश भएकोले यसलाई राष्ट्रिय दिवशको रुपमा समेत मनाइएको बताए ।

‘संविधान दिवशलाई भव्यता र व्यापकताका साथ मनाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘यो नेपालका सबै दिवश भन्दा ठुलो दिवश हो । यसले वर्ग वा समुदायलाई मात्र हैन देशका सम्पूर्ण बासिन्दालाई समेट्ने भएकोले यसलाई व्यापक रुपमा मनाउनु पर्दछ । घरघरमा दिपावली मनाउनु पर्दछ ।’

संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएकोे नेपालको संविधानले हाम्रो गौरवपूर्ण परम्परा, वर्तमान नेपालको अवस्था र भावी नेपालको मार्गदिशा तय गरेको बताए ।


  •  
  •  
  •