निर्णायक बैठक ओलीलाई ठट्टा

111
  •  
  •  
  •  

काठमाडौं, ११ कात्तिक । संविधानका विवादित विषयमा अन्तिम निर्णय गर्ने भन्दै तीन राजनीतिक दलका नेताहरू पटकपटक वार्तामा बस्दै आएका छन् । जनतालाई निर्णायक भनिने यस्ता वार्ता कतिपय नेता खासगरी एमाले अध्यक्ष केपी ओलीका लागि भने खेलबाड मात्र बन्ने गरेका छन् ।
अघिल्लो संविधानसभामा बाहिरै रहेर संविधानसभाको मजाक उडाउने ओलीले यसपालि भित्रै रहे पनि सहमतिलाई महत्त्व दिएका छैनन् । सधैँजसो ढिलो गएर छिटो हिँड्ने ओली सोमबार त बैठकमा गएनन्, अरू शीर्ष नेतालाई पनि पठाएनन् ।
नेताहरू बैठकमा नआउने र आए पनि गम्भीर वार्ता गर्न तयार नभएपछि संविधानसभाको संवाद समितिको म्याद फेरि सकिन लागेको छ । सिंहदरबार र बानेश्वरमा हुने बैठकमा नेता उदासीन भएपछि असोज अन्तिम र कात्तिक पहिलो साता गोकर्ण रिसोर्टमा बैठक डाकिएको थियो, तर निर्णायक भनिएका गोकर्णका तीनवटा बैठकमा पनि ओलीले समय नदिँदा नेताहरूबीच सघन छलफल नै हुन सकेको छैन ।
गोकर्णको पहिलो बैठक ३१ असोजको अपराह्न ४ बजे सुरु हुने भनिएको थियो, सबै नेता समयमै पुगे । तर, पटक–पटक फोन गरेपछि ओली साढे पाँच बजे मात्र पुगे । एमाले

अध्यक्ष र संसदीय दलका नेतासमेत रहेका ओली ढिलो पुगेपछि पहिलो बैठकमा पनि गम्भीर छलफल हुन सकेन ।
जसरी पनि निर्णयमा पुग्ने भनेर आयोजना गरिएको आवासीय बैठकको पहिलो दिनको छलफल ४ कात्तिक बिहान ८ बजे सुरु हुने भनिएको थियो । कांग्रेस र माओवादीका नेता समयमै पुगे, तर एमाले अध्यक्ष ओली नपुगेपछि नेताहरूले उनलाई फोन गरे । ओलीले ११ बजे आइपुग्छु भनेपछि नेताहरू घाम ताप्न र पत्रिका पढ्नतिर लागे । तर, ओली ११ बजे पनि नपुगेपछि फेरि फोन गरियो, उनले डेढ बजेसम्म पुग्ने भनेर नेताहरूलाई फेरि पर्खाए । पर्खँदा थाकेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले त रिसोर्टमा दुई घन्टा सुत्न पनि भ्याए ।
बैठकमा सहभागी अरू नेताहरूका अनुसार ओली डेढ बजे पनि पुगेनन्, फोन गर्दा टिचिङ अस्पतालमा छु, आउँछु भन्ने खबर आएपछि नेताहरू हाई काढ्दै बसे । ओली पौने तीन बजे पुग्नासाथ बैठक सुरु भयो, तर दुईपक्षीय छलफल गर्ने भन्दै बैठक १५ मिनेटमै स्थगित भयो । तर, केहीबेर एमाओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेर ओली फर्किए । बिहानैदेखि पर्खिएका नेताहरूलाई निराश बनाएर ओली सहरतिर लागे भने एमाले महासचिव ईश्वर पोखरेल रिसोर्टमै ‘स्टिम बाथ’ लिन लागे ।
आवासीय बैठकको दोस्रो दिन ५ कात्तिक बिहानै नौ बजे नै भेट्ने सहमति थियो । तर, ओली १० बजे मात्र पुगे । ‘आज त एक घन्टा मात्र ढिलो गर्नुभयो, हामीलाई ठूलो राहत दिनुभयो, धन्यवाद छ,’ अरू दलका नेताहरूले व्यंग्य गर्दा ओलीको भनाइ थियो, ‘म त टाइमको पक्का छु नि ।’
गोकर्णका बैठक असफल भएपछि सोमबार सिंहदरबारमा बैठक डाकिएको थियो । ओलीसहित एमाले र एमाओवादीका नेताहरू आइतबार अपराह्न शान्तिकोषको बबरमहलस्थित कार्यालयमा भेटेर बिहान ९ बजे सिंहदरबारमा भेट्ने सहमति गरेका थिए । सिंहदरबारमा कांग्रेस र एमाओवादीका शीर्ष नेता मात्र आए, एमालेका न ओली आए न माधव नेपाल । साढे नौ बजे नेताहरूले सिंहदरबारबाट फोन गर्दा ओलीका निजी सचिवले जवाफ दिए, ‘उहाँलाई खासै सन्चो छैन ।’
बैठक भन्दै कांग्रेस र एमाओवादीका नेता हतारहतार सिंहदरबार पुगे, तर ओलीले आफूलाई सन्चो नभएकाले आउन नसक्ने अथवा आफ्नो दलको अरू नेता आउने जानकारी दिन उचितै ठानेनन् । अब अर्को बैठकमा सहमति हुने हो कि होइन भन्ने भन्दा पनि ओली आउने हुन् कि होइनन् भन्ने प्रश्न मुख्य बनेको छ

नयाँपत्रिकाबाट


  •  
  •  
  •