वार्षिक नीति तथा कार्यक्रम दूरगामी लक्ष्यसहित ल्याइएको हो : प्रधानमन्त्री

408
  •  
  •  
  •  

काठमाडौँ, २४ वैशाख (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम दूरगामी लक्ष्यसहित ल्याइएको बताएका छन् ।

वार्षिक नीति तथा कार्यक्रममा छलफलमा उठेका प्रश्नहरुको प्रतिनिधिसभामा मंगलबार जवाफ दिँदै प्रधानमन्त्रीले एक वर्षको नीति कार्यक्रम भए पनि दूरगामी कार्यक्रम राखेर ल्याइएको बताए ।

उनले भने, ‘आगामी एक वर्ष, चार, पाँच र २५ वर्षसम्मको दूरगामी लक्ष्य राखेर ल्याइएको हो । अग्रगामी सोचसहित ल्याइएको हो ।’

प्रधानमन्त्रीले नीति तथा कार्यक्रमले सपनामात्र होइन संकल्प र अठोट पनि लिएको उल्लेख गरे ।
‘कतिपय साथीहरुलाई सपना रातिमात्रै देखिने भन्ने पनि लागेको छ, यहाँ सपनाको कुरा गरेको राति देखिने होइन, यहाँ देश बनाउने सपना हो,’ उनले भने, ‘ शहीदको सपना पूरा गर्ने भनेको निदाएर घुरेर देखिने सपनामात्र होइन ।’
प्रधानमन्त्रीले लोकतन्त्रका संस्थाहरु, जनप्रतिनिधिको सम्मान बढाउने र अग्रगामी सोचसहित नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गरे ।
बहुमत आफैमा स्थिरता र स्थायित्व नहुने बताउँदै उनले योजना र नीतिले त्यसलाई स्थायित्व दिलाउने बताए ।
नीति तथा कार्यक्रममा विपक्षी दलले असावधानीवस शब्द प्रयोग गरेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भने, ‘आलोचनाको कुनै ठाउँ रहेनछ, सुन्दर निबन्धजस्तो छ भन्नुभयो एक मित्रले, यसमा धेरै केही भन्नु छैन नीति कार्यक्रम आलोचना रहेनछ, त्यही भएर निबन्ध भनेर टुंगो लगाइदिनुभएछ । असावधानीसाथ शब्द प्रयोग गर्नुभएजस्तो लाग्छ, योजनाबद्ध छैन, खोक्रो छ भनेर । लामो हुन सक्छ, सविस्तार हुन सक्छ । तर, सबै पनि छ । केही पनि छैन भनेको के ?’

ओलीले नीति तथा कार्यक्रममा प्रयोग गरिएको ‘मेरो सरकार’ जानीबुझीकन राखेको स्पष्ट पारे ।
‘राष्टपतिज्यूले मेरो सरकार भन्नुभयो, दुनियाँभरको अभ्यास हो, पोहोर थिएन, केही अभ्यास मिलेको छैन । यो वर्ष मिल्यो, अर्को पटक धेरै कुरा मिलाइन्छ,’ उनले भने, ‘कांग्रेस लोकतान्त्रिक अभ्यास भएको पार्टी हो । कांग्रेसले साह्रै आलोकाचोपन देखाउनुहँुदैन । प्रतिपक्षी दलका नेताले बेलायतकी महारानीजस्तो भन्नुभयो, त्यस्तो नकारात्मक टिप्पणी गर्नु हुँदैन, बेलायत मित्रराष्ट्र हो ।’

प्रधानमन्त्री ओलीले राष्ट्रपति केही पनि हैन भन्ने हैन, राज्य व्यवस्थाको सर्वोच्च सम्मानित र अभिभावकीय संस्था भएको बताए ।

प्रधानमन्त्रीले प्रतिपक्षीलाई मेरो सरकार भन्ने अप्ठेरो भएको उल्लेख गर्दै भने, ‘अब हेर्नुस् न प्रतिपक्षीलाई पनि कति फाइदा हुने बजेट आउँछ ।’

प्रधानमन्त्री ओलीले संविधान संशोधनलाई सार्वजनिक खपतको विषय नबझाउन आग्रह गरे ।
‘सुशील कोइराला प्रधानमन्त्री भएकाबेला यति संशोधन भए पुग्छ भनिएको थियो,’ संविधान असंशोधननीय, अपरिवर्तनीय हुन नसक्ने बताउँदै उनलो भने, ‘हामीले बनाएको संविधान हो । संविधान जुनसुकै मौसममा पनि गीत गाउने विषय होइन । यो त पब्लिक कन्जम्सनका लागि जस्तो भयो । त्यसो नगरौं ।’

प्रधानमन्त्रीले अहिलेकै सरकारले हडपिएका सार्वजनिक जमिनलाई सरकार मातहत ल्याएको स्मरण गराउँदै भने, ‘बालुवाटार अहिलेको सरकार बनेर मासेको हो र ? अहिलेको सरकारले खुलामञ्च कब्जा गरेको हो र ? बरु अहिलेको सरकारले ल्याएको हो । अहिले त छानबिन हुँदैछ, खोजी हुँदैछ, अहिले हो वाइडबडी घोटाला भएको, पहिले भएकाहरुको छानबिन हुँदैछ ।’

प्रधानमन्त्रीले वर्तमान सरकारले नै सुन तस्करीको अन्त्य गरेको बताए । प्रधानमन्त्री ओलीले वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडिया भ्रमणमा जान लागेको जानकारी दिंदै त्यसबाट पर्यटन र विविध पक्षमा फाइदा हुने विश्वास व्यक्त गरेका थिए ।


  •  
  •  
  •