प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने घिमिरेलाई रिहाइ गर्न माग

420
  •  
  •  
  •  

रुपन्देही, ९ वैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलको जितगढीमा यहि वैशाख ७ गते कालो झण्डा देखाउने रुद्रप्रसाद घिमिरेमाथि प्रहरीले मुद्दा चलाएर कारबाही अघि बढाएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ ।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने क्रममा घिमिरेले ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्दै कालोझण्डा देखाएका थिए । उक्त बिषय अहिले प्रदेशसभामा समेत प्रवेश गरेको छ ।

सोमबारको प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य डिल्ली चौधरीले प्रजातन्त्रमा विरोध गर्नुलाई सामान्य रुपमा लिनुपर्ने भन्दै उनलाई रिहाई गर्न माग गरे ।

नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालालाई भैरहवामा कालो झन्डा देखाउँदा मुसुस्क हाँस्दै विरोध गर्न दिएको प्रसंग जोड्दै लोकतन्त्रमा विरोध गर्न पाउने भएकोले कालोझन्डा देखाउने घिमिरेलाई रिहा गर्नुपर्ने माग गरिन् ।

सोमबार बिहान बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कालो झन्डा देखाउनु लोकतन्त्रमा कुनै ठुलो बिषय नभएको भन्दै घिमिरेलाई रिहा गर्न माग गरेका थिए ।

उनीमाथि फौजदारी संहिता अन्तर्गत सार्वजनिक मुद्दा दर्ता गरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले जानकारी दिएका छन् ।

अर्घाखाँची घर भएका घिमिरे केही वर्षदेखि बुटवल ११ मजुवामा बस्दै आएका छन् । घिमिरे गत संसदीय चुनावमा नेकपाका महासचिव विष्णु पौडेलले जितेको क्षेत्र रुपन्देही २ बाट स्वतन्त्र उम्मेदवार थिए ।


  •  
  •  
  •