विद्वानहरुको देश बनाउनुपर्छ : प्रधानमन्त्री

141
  •  
  •  
  •  

काठमाडौं, ४ वैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको होइन विद्वानहरुको देश बनाउनुपर्ने बताएका छन् ।

विद्यालय भर्ना अभियानका सन्दर्भमा बुधबार बालुवाटारमा नेकपा निकट यूवा र विद्यार्थीसँग अन्तक्र्रिया गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ । हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपायोग हामीले गर्नु पर्दछ । विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।’

प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताए ।
‘शिक्षाको महत्व अभिभावकलाई बुझाउनु पर्दछ’ प्रम ओलीले भने, ‘त्यसपछि मात्र उनीहरुलाई छोराछोरी पढ्न पठाउँछन् ।’

प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीहरुले अब सृजनशिल र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको बताए । प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको स्वरुप फेरिएको स्पष्ट पारे ।

‘अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन्’ प्रम ओलीले भने, ‘अब युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनुपर्दछ ।’

गतवर्ष देखि विशेष रुपले शुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई आग्रह गरे ।

‘विकास र समृद्धिको महत्वपूर्ण माध्यम शिक्षा हो । हामीले समृद्धि हासिल गर्नका लागि शिक्षाको स्तर उठाउनु पर्दछ । यसका लागि तपाईंहरुको भूमिका महत्वपूर्ण हुन्छ । यसबर्ष देखि विद्यालय उमेरका कोही बालबालिका पनि विद्यालय बाहिर हुनुहुँदैन’ प्रधानमन्त्री ओलीले भने । अन्तक्र्रियालाई शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गीरीराजमणी पोख्रेलले सहजिकरण गरेका थिए ।


  •  
  •  
  •