नेपालको एकिकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित : प्रधानमन्त्री

728
  •  
  •  
  •  

भक्तपुर, २८ चैत(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकिकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको बताएका छन् ।

सैनिक अधिकृतहरुको दिक्षान्त समारोहलाई बिहीबार खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजा पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेकौं नायकहरुको नेतृत्वमा अघि बढाएको राष्ट्रिय एकिकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकिकृत गरी नेपाल निर्माण गरेको बताए ।

राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगत देखि नै उल्लेखनीय कार्य गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘नेपाली सेना सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायीक र मर्या्दित संगठनको रुपमा स्थापित गर्दै आएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरु, नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय संकटमा नेपाली जनताप्रति बफादार रही नेपाली सेनाले काम गर्दै आएको छ ।’

प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश अहिले स्थायीत्वको जगमा सुदृढ सुव्यवस्था र तीब्र विकासको बाटोबाट अघि बढेको बताए ।

‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पारी राष्ट्र विकास गर्ने हाम्रो संकल्प रहेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘विकासका लागि सुरक्षा र सुरक्षा सुदृढिकरणका लागि विकास अपरिहार्य छ ।’

प्रधानमन्त्री ओलीले देशमा विद्यमान सुरक्षा चुनौती तथा भविष्यमा समेत उत्पन्न हुन सक्ने सुरक्षा खतराहरुको सामना गर्न नेपाली सेना र आन्तरिक शान्ती सुरक्षासँग सम्बद्ध सुरक्षा निकाय समेत सदैव सजग र सतर्क रहनुपर्नेमा जोड दिए ।


  •  
  •  
  •