फेद न टुप्पोको विरोध गरेर देश विकासमा अवरोध गर्नु उचित हुँदैन : प्रधानमन्त्री

477
  •  
  •  
  •  

काठमाडौं, २० चैत(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि राजनीतिक स्थिरता र नीतिगत आधार तयार भएको बताएका छन् ।

राष्ट्रिय विकास परिषदको बैठकलाई बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विगतमा जस्तो एउटा सरकार बन्ने केही महिनामा त्यसलाई ढालेर अर्को सरकार आउने अवस्थालाई जनताले अन्त्य गरेकोले अब नीतिगत र राजनीतिक स्थिरता कायम भएको बताए।

उनले भने, ‘जनताले बहुमत दिएर पठाएको सरकार छ । यसले विकासमा स्पष्ट नीति लिन्छ । तिनै नीतिहरुको आधारमा योजना बनाइन्छ र कार्यान्वयन गरिन्छ । सरकार विकासको महाअभियानमा सरिक भएकोले पक्ष विपक्ष हैन सबैले सहकार्य गरेर देश निर्माणमा जुटौं ।’

प्रधानमन्त्री ओलीले नेपालको विकासको प्रयासलाई साथ सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय पनि इच्छुक भएको बताए ।
हालै सम्पन्न लगानी सम्मेलनमा छिमेकी देशका लगानीकर्ताहरुको उत्साहपूर्वक सहभागिताले त्यसै कुराको संकेत गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हाम्रा विकासका प्रयासलाई साथ सहयोग दिन अन्तर्राष्ट्रिय समुदाय पनि इच्छुक छ । लगानी सम्मेलनले यसलाई स्पष्ट पारेको छ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले विकासका महत्वकांक्षी योजना लिएर सरकार अघि बढ्ने बताए । उनले भने,‘हाम्रो राष्ट्रिय संकल्प समृद्ध नेपाल,सुखी नेपाली हो । यस गन्तव्यमा पुग्न हामीले महत्वकांक्षी ढंगले काम गर्नै पर्दछ । भौतिक विकास,शिक्षा,स्वास्थ्य सबै क्षेत्रमा महत्वकांक्षी योजना कार्यान्वयन गरेर देशलाई अघि बढाइनु पर्दछ ।’

नयाँ कुराको अभिव्यक्तिले पनि मानिसको सोचाइमा परिर्वतन आउने प्रधानमन्त्री ओलीको भनाइ छ । कोशी नदीमा स्टिमर चल्नु त्यसकै एउटा उदाहरण भएको प्रधानमन्त्रीले बताए ।

कृषिमा यान्त्रिकिकरण गरेर उत्पादकत्व बढाउने सरकारको नीति रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कृषिमा यान्त्रिकिकरण गर्दा कसैको रोजगारी खोसिदैन । बरु यसले रोजगारीका नयाँ अवसर सृजना गर्दछ । त्यसैले आधुनिकताले रोजगारी खोसिने नभइ रोजगारीको रुपान्तरणचाँही हुने हो ।’

सन्तुलित विकासका लागि तिनै तहका सरकारले समन्वयात्मक ढंगले काम गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘विकासका लागि दलहरुबीच समझदारी र एकता आवश्यक छ । फेद न टुप्पोको विरोध गरेर देश विकासमा अवरोध गर्नु उचित हुँदैन’ प्रधानमन्त्री ओलीले भने ।

राष्ट्रिय विकास परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले १५ औं योजनाले पाँचबर्षको विकासको योजना मात्र प्रस्तुत गरेको नभइ यस सताब्दीको अन्त्यसम्ममा नेपालको विकासको प्रारुप तयार गरेको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले भने, ‘यस योजनाले विं सं २०९९ सम्ममा नेपालको विकासको अवस्था कस्तो हुन्छ भन्ने स्पष्ट खाका दिएको छ ।’

राष्ट्रिय योजना आयोगले तयार गरेको १५ औं पञ्चबर्षीय योजना (२०७६÷०७७ –२०८०÷८१ )को प्रस्तावित आधार पत्रलाई पारित गर्न यो बैठक आयोजना गरिएको हो ।


  •  
  •  
  •