प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्रमा

414
  •  
  •  
  •  

काठमाडौं, १८ चैत(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका छन् । झापाको कार्यक्रम रद्द गरेर उनी सोमबार दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा गएका हुन् ।

 

प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया पुगेका छन् । प्रधानमन्त्रीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन समेत दिएका छन् ।

प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् ।  प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिएका थिए ।

आइतबारसाँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, सहरी विकास मन्त्री इस्तियाक राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ निरीक्षणमा पुगेका छन् ।

हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ । नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाई समेत अपिल गरेका छन् ।

 


  •  
  •  
  •