प्रधानमन्त्रीले भने,‘चैत महिनाभित्र विप्लवलाई नियन्त्रणमा लिन्छौं’

1066
  •  
  •  
  •  

काठमाडौं, ११ चैत(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्र नेत्रविक्रम चन्द ‘विप्लव’ लाई नियन्त्रणमा लिने दाबी गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘विप्लव समूहका नेता, कार्यकर्ताहरु नियन्त्रणमा आइसके । अब चैत महिनाभित्र विप्लव पनि नियन्त्रणमा लिनेछौं ।’

सरकारले विप्लव समूहलाई प्रतिबन्धित गरिसकेको छ । प्रधानमन्त्री ओलीले विप्लवलाई नियन्त्रणमा ल्याएर सुधार गर्ने बताए ।

प्रधानमन्त्री ओलीले पृथकताबादी नेता वैज्ञानिक सीके राउतलाई मुलधारको राजनीतिमा ल्याएर विखण्डनबाद समाप्त भएको बताएका थिए ।

पार्टी एकीकरणमा भइरहेको ढिलाईका विषयमा पनि प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गरे । उनले चाँडै पार्टी एकीकरण प्रक्रिया टुंगिने बताए ।

प्रधानमन्त्री ओलीले संसदको हिँउदे अधिवेशन सकिएकोले सांसदहरुलाई जिल्ला र क्षेत्रमा जान निर्देशन समेत दिए ।

जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरुको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न सांसदहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिए ।
‘तपाईंहरु जिल्ला र क्षेत्र जानुहोस् । सरकारले गरेका कामहरुको प्रचार गर्नुहोस् । जनतामा भएका कुरा लुकाएर नभएका कुराको प्रचार गरिएको छ । त्यसको खण्डन गर्नुहोस् । सत्य कुरा भन्नुहोस् । जनताका कुरा सुन्नुहोस् । आगामी वर्षको नीति र कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कनुहोस्’ प्रधानमन्त्री ओलीले सांसदहरुसँग भने ‘जनताले सोधेका हरेक कुराको जवाफ नम्र ढंगले दिनुहोस् ।’

नेकपाका संसदीय दलका नेता र एवं पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले स्थानीय तहको पार्टी एकताको बारेमा जनताले सांसदहरुसँग धेरै प्रश्न सोध्न सक्ने बताए ।

तर अब पार्टी एकताका लागि धेरै समय नलाग्ने भएकोले त्यसै अनुसार जनता र कार्यकर्तालाई सन्देश दिन प्रधानमन्त्री ओलीले आग्रह गरे ।

‘केन्द्रमा एकिकरण भएको महिना दिन भित्रै सबै कमिटीको एकता सकिनु पथ्र्यो यसमा अनावश्यक विलम्ब भएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘तर अब अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कने वित्तिकै एकतामका सबै काम टुंगिन्छन् ।’

 

 


  •  
  •  
  •