‘बरु २० दिन मैदानमा बाँच्न चाहन्छु’

125
  •  
  •  
  •  

काठमाडौं ५ असोज ।
भाषणमा सधैंजसो प्रतिपक्षी दलका नेता, सरकारी कामकाज र सामाजिक विकृतिविरुद्ध उखानटुक्‍का सुनाएर सहभागीलाई हसाउने एमाले अध्यक्ष केपी ओली शनिबार भने एकाएक भावुक देखिए। मिर्गौला प्रत्यारोपणपछि आवश्यक औषधिको मात्रा परीक्षण गरिने अत्याधुनिक ल्याब उद्घाटन कार्यक्रममा सहभागी ओलीको भावुकता शब्दमा मुखरित भएलगत्तै सहभागीमा निराशामात्रै छाएन कार्यक्रम हल नै स्तब्ध बन्यो।

आधा घन्टा भाषण गरेका ओलीले न कुनै उखानटुक्का जोडे न कसैको आलोचना गरे। बरु आफ्नै स्वास्थ्यप्रतिको यथार्थ बताएर सहभागीलाई गम्भीर बनाए। उनले भने, ‘२० वर्ष बिस्तरामा सुत्नुभन्दा २० दिन मैदानमा उत्रिएर मलाई बाँच्न मन छ, मैदानमा जति बाच्छु ठिकै छ, बिस्तरामा बाँचेर अरूलाई दु:ख दिन चाहन्‍न’

आफ्नै पार्टीका नेताबाट समेत रोगी भनेर कटाक्ष गरिँदै आएका ओलीले भने, ‘मर्नु त छँदैछ तर उपयोगी काम गरेर मर्नुपर्छ, जसको सधैं सम्मान हुनेछ, जुन ध्येय मेरो पनि हो।’

पछिल्लो समयमा आफूले झेलिरहेका स्वास्थ्य समस्या मिर्गौला प्रत्यारोपणसँग नजोडिए पनि कहिलेकाहीं समस्या आउने गरेको उनले सुनाए। उनले भने, ‘मिर्गौला प्रत्यारोपणपछि अनुशासित जीवन जिउनुपर्छ, खानपानदेखि हरेक कुरामा विचार पु:याउनुपर्छ, मलाई सधैं त्यसरी चल्दैन, त्यसैले अप्रत्याशित बिरामी हुनुपर्छ। तर म डराएको छैन र अरूलाई पनि नडराउन आग्रह गर्छु।’

फङ्गल्स इन्फेक्सनका कारण सुन्‍निएको हात देखाउँदै ओलीले आफू बिरामी भइरहे पनि मन भने सधैं साहसमा अडिएको बताए। ‘फुटबल खेल्ने मौका मिल्यो भने अहिले पनि म पाँच गोल त हान्‍न सक्‍छ, दुवै मिर्गौलाले काम नगरेपछि सात वर्षअघि भारतमा प्रत्यारोपण गराएका उनले भने, ‘जतिबेला मेरो मिर्गौलाले काम गर्न छाड्यो, त्यतिबेला प्रत्यारोपणको सेवा नेपालमा थिएन, विदेशमा गएर प्रत्यारोपण नगरेको भए या त त्यतिबेलै आर्यघाट पुग्नुपर्थ्‍यो, या त कुनै अस्पतालमा थलिनुपर्थ्‍यो।’

उनले अहिले स्वदेशमै मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध हुँदा धेरैको ज्यान जोगिए पनि पहुँच सबैतिर पुग्न नसकेको बताए। नेपालमा चिकित्सकले लामो समय र परामर्श दिन नसक्दा बिरामी हतोत्साहित हुने र जटिल समस्या आइपर्ने उनको अनुभव छ।

मिर्गौला रोगबारे जनचेतना फैलाउन र प्रत्यारोपण सेवा कानुनी रूपमा सहज बनाउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।कार्यक्रमका सहभागी सरकारका मुख्य सचिव लीलामणि पौड्यालले मिर्गौला प्रत्यारोपण सेवा सहज बनाउन आफू लागिपरिरहेको बताए।उनले सँगै रहेका स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठलाई रोकिएको काम तत्काल थाल्न निर्देशन पनि दिएका थिए। अन्नपूर्णपोष्ट


  •  
  •  
  •