थोरै–थोरै लगानीले ठूला आयोजनाहरु निर्माण गर्न सकिन्छ : प्रधानमन्त्री

56
  •  
  •  
  •  

काठमाडौं, ७ चैत(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले मौरीले थोरै थोरै फूलको रस संकलन गरेर धेरै मह जम्मा गरेजस्तै नेपालीको थोरै थोरै लगानीले ठूला आयोजनाहरु निर्माण गर्न सकिने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा नेपालको पानी जनताको लगानी कार्यक्रमको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मौरीले फूलको थोरै रस संलकन गरेर मह जम्मा गरे जस्तै हामीले थोरै थोरै लगानीमा सबै जनतालाई सहभागिता गराएर ठुला आयोजनाको निर्माण गर्न सक्छौं । यस्तो अभियान पर्यटन, कृषि आदिका क्षेत्रमा पनि सञ्चालन गर्न सकिन्छ ।’

वहालवाला तथा सेवा निवृत भइसकेका पूर्व शिक्षक, कर्मचारी तथा सुरक्षाकर्मीहरुले पनि यस्ता आयोजनाहरु सञ्चालन गर्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘यो कार्य आफ्नो देश आफैं बनाउँ अभियानको सुरुवात हो’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा सहभागी हुनका लागि विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई म आह्वान गर्दछु । यस्तो अभियानले देशलाई छिटो समृद्धिमा पु¥याउन सकिन्छ ।’

प्रधानमन्त्री ओलीले त्रिशुली ३ बि जलविद्युत आयोजनाको साधारण शेयर (आइपिओ) को १० हजार कित्ता शेयर खरिदका लागि आवेदन गरेका छन् । यस शेयरका लागि पहिलो आवेदनकर्ता ओली नै हुन् ।

यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि १० हजार कित्ताको आवेदन गरेकी छन् । उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले १ हजार कित्ता र पूर्व सभामुख ओनसरी घर्ती मगरले २ हजार कित्ताको आवेदन गरेका छन् ।
शेयर खरिद गरेपछि प्रधानमन्त्री ओलीले आज नयाँ अभ्यासको थालनी भएको बताएका थिए ।

प्रधानमन्त्री ओलीले आम सर्वसारधणलाई यस प्रकारका आयोजनामा लगानी गर्न प्रोत्साहित गर्न आफूले पहिलो शेयर खरिदका लागि आवेदन दिएको बताएका थिए ।


  •  
  •  
  •