तत्काल मन्त्रिपरिषद पुनर्गठन हुँदैन : प्रधानमन्त्री

315
  •  
  •  
  •  

विराटनगर, ३ चैत(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने बताएका छन् ।

फाइल तस्बिर

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो । तत्काल पुनर्गठन हुँदैन ।’

संस्कति, पर्यटन तथा नागरिक उड्डयन्त्र मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि उक्त मन्त्रालय अहिले रिक्त छ ।

यसअघि गत साता मात्रै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमै पुगेर मन्त्रिपरिषद पुनर्गठन हुनसक्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनाधिकृत संस्था भएको बताए ।
नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको ओलीको आरोप छ ।

‘जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो– सरकारले चिन्दैन’ उनले भने ।

प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल नभएको र सो समूहले गरेका विध्वंसात्मक गतिविधिमात्रै गरेकाले प्रतिबन्ध लगाइएको बताएका थिए ।

उनले विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन नेताहरुलाई आग्रह समेत गरे । प्रधानमन्त्री ओलीले संविधान र कानून विपरित, लुटपाट र आतंकका गतिविधि गर्न छुट नदिने चेतावनी दिए ।

‘नेपालका नेताजीहरुलाई आग्रह गर्न चाहन्छु, आफैँलाई जवाफ दिन नसक्ने कुराहरु नगर्नुहोस्, उनको पार्टी कही दर्ता भएको थियो र ? दर्ता छैन । नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो,’ उनले भने, ‘बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने । बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? गम्भीर राजनीति गर्नुपर्छ ।’

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टी एकताको विषय अन्तिमतिर पुगेको बताए । एकताका विषयमा सबै कुरा मिलिसकेको उनको दाबी छ ।


  •  
  •  
  •