क्रान्तिकै शैलीमा अभिमत प्रकट भयोः ओली

311
  •  
  •  
  •  

काठमाडौँ, २७ मंसिर (ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालीको निर्वाचन जनताको अभिमतको क्रान्ति भएको बताएका छन् । नेपालमा जनताको हक अधिकारको खोजीका लागि कहिले सशस्त्र क्रान्ति, कहिले जनआन्दोलन भए पनि यसपालीको निर्वाचनमा जनताले क्रान्तिकै शैलीमा अभिमत प्रकट गरेको ओलीले बताए ।

बधाई दिन आएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई बुधबार आफ्नै निवास बालकोटमा सम्बोधन गर्दै ओलीले समृद्धि र विकासका लागि जनताले यसपालीको निर्वाचनलाई अभिमतमार्फत गरेको क्रान्तिको संज्ञा दिएका हुन् ।
वाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेपनि विगतमा काँग्रेसले गरेजस्तो प्रतिपक्षीप्रति आफू क्रुर नहुने ओलीले बताए । ‘काँग्रेसले बहुमत ल्याएका बेला एमालेसंग कुरा गर्नेहरुलाई पनि झुठा मुद्धा लगाएर फसाइएको थियो’ ओलीले भने ‘ तर हामी त्यस्तो गर्दनौं । प्रतिपक्षीलाई पनि साथमा लिएर अगाडि बढ्छौं ।’

निर्वाचनका बेला प्रतिष्पर्धी भएकोले काँग्रेससँग केही घोचपेच भए पनि अब त्यो अध्याय सकिएको ओलीको भनाइ छ । अब देश निर्माणमा लाग्नु पर्ने भएकोले सबै शक्ति एकजुट भएर अघि बढ्नुको विकल्प नभएको ओलीले बताए । ‘कुस्ती खेल्न मैदान गएपछि एक आपसमा मुक्का हानाहान हुन्छ । तर खेल सकिएपछि बाटामा हिडेका बेला मुक्का हानिदैन’ ओलीले भने ‘त्यसैले अब एमाले अन्य पार्टीसंग सहकार्य गरेर अघि बढ्छ । किनभने अब पाँचबर्षका लागि चुनावी प्रतिष्पर्धा सकियो ।’

आगामी सरकार क्षमताहिन मानिस थोपर्ने ठाउँ नहुने ओलीले बताए । भ्रष्टाचार नियन्त्रण र लोकतन्त्रलाई जीवन पद्धतिको रुपमा अघि बढ्न निजामती कर्मचारीहरुलाई ओलीले आग्रह गरे । ‘तपाईंहरुबाट जनताले सुशासनको अपेक्षा राखेका छन्’ ओलीले भने ‘छिटो,छरितो र भ्रष्टाचारमुक्त सेवा दिएर जनतालाई सुशासनको अनुभुती दिनुहोस । ’
यसैगरी, बधाइ दिन आएको च्याम्बर अफ कमर्सको टोलीलाई ओलीले अबको नेपाल विकास र समृद्धिको यात्रामा अघि बढेकोले निजी क्षेत्रको भूमिका त्यसै अनुसार हुनुपर्ने बताए ।

उद्योगी व्यावसायीहरुलाई ढुक्क भएर उद्योग कलकारखानमा लगानी गर्न ओलीले सुझाव दिए । ‘अब हड्ताल र बन्दको युग सकियो’ ओलीले भने ‘अब उत्पादन,विकास र समृद्धिको युग सुरु भइसक्यो ।’ ओलीलाई बधाइ दिन अनेरास्ववियूका अध्यक्ष नविना लामा, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा, आधिकारीक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल, च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायत आएका थिए ।


  •  
  •  
  •