१२ अञ्चल प्रमुख ओली समहुमा रहेको दाबी

374
  •  
  •  
  •  

काठमाडौं, १८ असार (ओएनएस) । एमाले महाधिवेशनको अघिल्लो दिन बुधबार अध्यक्षका प्रत्यासी केपी ओली पक्षले एक कार्यक्रम गरी बहुमत प्रतिनिधि आफ्नो पक्षमा रहेको दाबी गरेको छ । बुधवार राजधानीको एक होटलमा कार्यक्रम गरी यस्तो दाबी गरिएको हो ।

कार्यक्रममा ओली पक्षले गरेको दाबीअनुसार २२ विभाग, १७ अञ्चल, २२ जनवर्गीय संगठन र १ सय ९ इकाईमध्ये अधिकांश ओलीको पक्षमा छन् । ओलीको उपस्थितिमा कार्यक्रम गर्ने प्रचार गरिए पनि उनी भने कार्यक्रममा उपस्थित भएनन् । कार्यक्रममा उपाध्यक्ष विद्या भण्डारी, प्रचारप्रसार विभाग प्रमुख प्रदीप ज्ञवालीसहित केही पोलिट्व्यूरो सदस्य, केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, अञ्चल प्रमुख उपस्थित कार्यक्रममा केही माधव नेपाल पक्षीय भनिएका नेतासमेत उपस्थित थिए ।

एमालेका १७ अञ्चल प्रमुखमध्ये १२ अञ्चल प्रमुख आफ्नो पक्षमा रहेको ओली पक्षले दाबी गरेको छ । पत्रकार सम्मेलमा समेत ११ अञ्चल प्रमुख उपस्थित थिए । ओली पक्षमा नारायणी प्रमुख काशीनाथ अधिकारी, लुम्बिनी प्रमुख छविराज विश्वकर्मा, गण्डगी प्रमुख खगराज अधिकारी, सगरमाथा प्रमुख धर्मप्रताप साह, सेती प्रमुख भानुभक्त जोशी, भेरी प्रमुख देवराज भार, जनकपुर प्रमुख केशव देवकोटा, कर्णाली प्रमुख गोरखबहादुर बोगटी, कोसी प्रमुख राजेन्द्र गौतम, धौलागिरी प्रमुख गणेश तिमिल्सिना र राप्ती प्रमुख भावग विश्वासी ओली पक्षमा जनाइएको छ ।

यसअघि माधव नेपाल पक्षीय भनेर चिनिएका अखिल महासचिव नविना लामा र स्याङजा जिल्ला प्रमुख पद्मा अर्यालसमेत ओली पक्षीय भेलमा सहभागी भएका छन् । उनीहरूले कम्युनिष्ट पार्टीमा अन्यायका विरुद्ध लड्नुपर्ने, अवसर नपाएकालाई सम्मान दिनुपर्ने प्रणाली भए पनि पार्टीभित्र त्यसको अभाव रहेको बताए । अखिल महासचिव लामाले कहिले पनि नेतृत्वमा नपुगेका महिला, दलित, जनजातिको अगुवा नेता भएका कारण अबको अध्यक्ष ओली हुनुपर्ने जिकिर गरिन् ।

ओली पक्षले वितरण गरेको ‘हाम्रो प्रतिबद्धता : नेतृत्व हस्तान्तरणको संकल्प’ नामक लिखित वक्तव्यमा नेपाल पक्षको चर्को आलोचना गरिएको छ । कार्यक्रममा बोल्दै नारायणी अञ्चल प्रमुख काशीनाथ अधिकारीले मदन भण्डारीको निधनपछि एमाले केपी ओलीको विचारबाट चलेको दाबी गरे । ‘अहिले केही साथीहरूले जसको विचार उसको नेतृत्व भन्ने गरेका छन्’, उनले भने, ‘मदन भण्डारीको अवसानपछि पार्टी केपी कमरेडको विचारमा चलेको छ ।’ उनले एमालेको वास्तविक शक्ति आफूहरूसँग रहेको देखाउन पत्रकार सम्मेलन गरेको बताए ।


  •  
  •  
  •