प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

आपसी सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धता
322
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
भारतीय प्रधानमन्त्री कार्यालय, हैदरावादमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्विटरमार्फत् भारत र नेपालका प्रधानमन्त्रीबीच भएको भेटघाटको तस्बिर सार्वजनिक गर्दै ‘दुवै देशका प्रधानमन्त्रीले आपसी सम्बन्धलाई अझ गहिराइमा लैजाने र सुमधुर बनाउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरेका छन् ।

सो क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्षको माला उपहार दिएका थिए । ओलीसँगको भेटवार्ताअघि भारतका प्रधानमन्त्री मोदीले बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, मौरिससका प्रधानमन्त्री प्रभिन्दकुमार जुग्नाउथसँग भेटवार्ता गरेका थिए ।

नेपालका प्रधानमन्त्री ओलीसँगको भेटघाटपछि मोदीले भुटानका प्रधानमन्त्री लोटे छिरिङसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

बिहीबार साँझ भारतीय राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीसहित बिमस्टेक राष्ट्रका राष्ट्र वा सरकार प्रमुख, किर्गिस्तानका राष्ट्रपति र मौरिससका प्रधानमन्त्री समेतका विदेशी अतिथी सामेल भएका थिए ।

बिहीबारको शपथग्रहण समारोहमा प्रधानमन्त्री मोदी, मन्त्री र राज्यमन्त्रीसहित ५८ जनाले शपथ लिएका छन् । प्रधानमन्त्री ओली आजै स्वदेश फर्किदै छन् ।

तस्बिरः भारतीय विदेश मन्त्रालयका प्रवक्ताको ट्विटरबाट


  •  
  •  
  •