सामन्ती चिन्तन भएकाहरुले राष्ट्रपतिको सम्बोधनमा विरोध गरे : प्रधानमन्त्री

583
  •  
  •  
  •  

काठमाडौं, २३ वैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’ भनिएकोप्रति विरोध गर्नेहरुले भारतीय राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने गरेको हेर्न आग्रह गरेका छन् ।

सोमबार सिंहदरबारमा गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘जननिर्वाचित सरकारलाई राष्ट्रपतिले मेरो सरकार भनेर अपनत्व दिन्छ । स्वीर्काछ । मेलै मेरो देश भन्छु तर तपाईँहरुको देश होइन भनेको होइन । मेरो राष्ट्र, मेरो भाषा, मेरो संस्कृति भनेर मैले निजी भनेको हो र ? मैले त राष्ट्रिय सामूहिक भाषाको सर्वोच्च अभिव्यक्ति मात्रै दिएको हो ।’

प्रधानमन्त्री ओलीले सामन्ती चिन्तन भएकाहरुले राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’ भन्ने आएकोमा विरोध गरेको दाबी गरे ।
राज्यको सर्वोच्च निकाय भएकाले राष्ट्रपतिले जननिर्वाचित सरकारलाई अपनत्व दिन पनि ‘मेरो सरकार’ भन्ने गरेको उनको तर्क छ ।

गएको बुधबार राष्ट्रपति विद्या भण्डारीले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्दा अहिले चर्को आलोचना भइरहेको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सर्वोच्च पद भएकाले सेना परिचालन गर्ने, संसदले पारित गरेको विधेयकलाई प्रमाणित गर्ने काम गर्ने गरेको बताए ।

यस्तै बैठकमा प्रधानमन्त्री ओलीले गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक स्वरुप भएको बताए ।

प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको दिवश बनाउनु पर्ने बताए । ‘यस दिवशलाई गाउँगाउँ र घरघमा समेत मनाउने गरी तयारी गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘यो जनताको दिवश हो । जनताले जितेको उत्सवको रुपमा यसलाई मनाउनु पर्दछ ।’
प्रधानमन्त्री ओलीले नेपालमा २००७ सालभन्दा अघि देखि नै गणतन्त्रका लागि संघर्ष भएको बताए ।


  •  
  •  
  •