सशस्त्रका आइजिपी वन्त निलम्बित

212
  •  
  •  
  •  

Kosh-Raj-Ontaकाठमाडौं ३ पुस ।

भ्रष्टाचार आरोपमा सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त निलम्बित भएका छन् । करोडौँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन्तसहित चारजना प्रहरी अधिकृतलाई निलम्बन गर्न सरकारलाई सिफारिस गरेलगत्तै बिहीबार सरकारले उनलाई निलम्बन गरेको हो । मन्त्रिपरिषद्को बैठक अचानक स्थगित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वन्तलाई निलम्बन गरेको हो । मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले वन्तलाई निलम्बन गरिएको निर्णय पारित गर्नेछ ।

बिहीबार साँझ ५ बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री केपी शर्मा ओली गोरखाको बारपाक जाने कार्यक्रम तय भएपछि स्थगित भएको थियो । अख्तियारले प्रधानमन्त्री कार्यालयलाई पत्र लेखेर निलम्बन गर्नु भनेकाले निलम्बनको आवश्यक प्रक्रिया थालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए । शुक्रबार मन्त्रिपरिषद् बैठकले वन्तलाई निलम्बन गरेको मन्त्रिपरिषद्को निर्णय अनुमोदन गर्ने प्रवक्ता खत्रीले बताए ।

त्यसका लागि शुक्रबार नै मन्त्रिपरिषद् बैठक बोलाइनेछ । सरकारले वरिष्ठताका आधारमा एआइजी दुर्जकुमार राईलाई सशस्त्रका कामु महानिरीक्षकको जिम्मेवारी दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो । राईलाई कामु महानिरीक्षकको जिम्मेवारी दिइएको निर्णयसमेत मन्त्रिपरिषद्बाटै अनुमोदन गराउनुपर्ने हुन्छ । अख्तियारले लामो छानबिनपछि वन्तसहितका प्रहरी अधिकृतले पाँचदेखि सात करोड रुपैयाँसम्म अनियमितता गरेको पाइएकाले थप अनुसन्धानका लागि उनीहरूलाई निलम्बन गर्न सरकारसमक्ष सिफारिस गरेको थियो । वन्तसँगै नायब उपरीक्षकद्वय सुमनजंग थापा र रामकृष्ण महर्जन तथा सशस्त्र प्रहरी निरीक्षक विनबहादुर थापासमेत निलम्बनमा परेका छन् ।

वन्तसहितका प्रहरी अधिकृत पदमा बहाल रहेकै अवस्थामा छानबिन गर्दा थप प्रमाण नष्ट हुन सक्ने र अनुसन्धान प्रभावित हुन सक्ने भन्दै अख्तियारले उनीहरूलाई निलम्बन गर्न सरकारसमक्ष सिफारिस गरेको हो । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको अध्यक्षतामा बिहीबार बसेको आयोगको बैठकले सशस्त्रका महानिरीक्षक वन्तसहितका अधिकृतलाई निलम्बन गर्न सरकारसमक्ष लेखी पठाउने निर्णय गरेको अख्तियारले जनाएको छ ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •