कोशी अस्पतालको भष्मिकरण यन्त्र प्रयोगबिहिन

847
  •  
  •  
  •  

koshi-anchal-aspatalविराटनगर, २७ चैत (ओएनएस)  : अस्पतालबाट निस्किएको फोहोरलाई नष्ट गर्न निर्माण भएको कोशी अञ्चल अस्पतालको इन्सिनेटर (भष्मिकरण यन्त्र) प्रयोगबिहिन भएको छ ।

रोटरी क्लव अफ इन्टरनेशनको सहयोगमा निर्माण भएको उपकरण सञ्चालन हुन नसक्दा थन्किएको हो । अञ्चल अस्पतालबाट निस्किएका फोहोर नष्ट गर्न निर्माण गरिएको यन्त्र सञ्चालनमा चासो नदिदा निर्माण भएको लामो समय बितेपनि सञ्चालन हुन नसकेको हो । मेसीन नचलेपछि अञ्चल अस्पतालबाट निस्किएको फोहोर खोलामा लगरे फाल्ने गरिएको छ । अस्पतालमा श्रृजित फोहोर मानव स्वास्थ्यमा गम्भिर असर गर्ने खालका हुने भएकोले फोहोरलाई व्यवस्थित गर्न यन्त्र जडान गरिएको थियो ।

फोहोर विर्सजन गर्ने यन्त्र जडान गरिएपनि सञ्चालन गर्न नसकिएको अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन पोखरेले स्वीकार गरे । उनले दाताले पूर्ण रूपले नबनाएको र मेसिन सञ्चालन गर्ने तरिका पनि नसिकाएको कारण सञ्चालन गर्न समस्या भएको बताए । पोखरेलले भने, ‘ ‘दाताले निर्माण गरे । तर पुरा फिनिसिङ नगरिएको रहेछ । केही समय सञ्चालन गरेपनि आर्थिक अभावमा सञ्चालन गर्न सकिएन ।’

पोखरेलले मेसिन सञ्चालन गर्न डिजल बढि आवश्यक पर्ने भएकाले पनि समस्या भएको बताए । उनले भने, ‘मेसिन सञ्चालन गर्ने इन्धन आवश्यक पर्छ तर हामीसँग इन्धन किन्ने आर्थिक अभाव छ ।’ इन्सिलेटरसँगै जिल्ला अदालत, मालपोत, नापी कार्यलय छन् । इन्सिनेटर सञ्चालन गर्दा बढि आवाज निस्कने भएकालेपनि मानिसको बढि चाप हुने स्थानमा सञ्चालन गर्न नसकिएको बताइएको छ ।

डा.पोखरेलले मेसिन सञ्चालन नहुँदा अस्पतालबाट निस्किएको फोहोर उपमहानगरपालिकाको सहकार्यमा फाल्ने गरेको स्पष्ट पारे । ‘अहिले कै अवस्थामा मेसिन सञ्चालन गर्न सक्ने अवस्था छैन् । उनले भने ‘माथिल्लो स्तरबाट नै अस्पतालको स्तर उन्नति गरियो भने सञ्चालन गर्न सकिन्छ ।’

अस्पतालले चासो नदिएका कारण सञ्चालनमा नआएको तत्कालिन निर्माण समितिका सदस्य वेनीगोपाल मुन्दडाले बताए । ३० लाख लागतमा करिव १० बर्ष अघि निर्माण गरिएको इन्सुलेटर हस्तान्तरण गरेको केही महिना सञ्चालन गरेर बन्द गरिएको मुन्दडाले बताए । उनले भने, ‘निर्माण गरेर अस्पतालाई हस्तान्तरण गरियो तर, दुई–तीन महिना सञ्चालन गरेर चलाउन नसक्ने भन्दै बन्द भयो ।’


  •  
  •  
  •