कोशी बाँध फुटेको हल्ला : प्रजिअले भने –हल्लाको पछि नलागौं

328
  •  
  •  
  •  

Swollen Saptakoshi River after incessant rainfall at the Koshi Barrage in Saptari-Sunsari border, on Saturday, July 23, 2016. Photo: Byas Shankar Upadhyaya

इनरुवा, ३ भदौ (ओएनएस) : कोशी फुट्न लाग्यो/फुट्यो भन्ने हल्ला फैलाइएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् ।

बिहीबार राति एक्कासि कोशी बाँध फुट्यो भन्ने हल्ला फैलिएपछि प्रजिअ पराजुलीले त्यस्तो हल्लाको पछाडि नलाग्न आग्रह गरेका हुन् ।
उनले कोशीमा कहीँ कतै कुनै खतरा नदेखिएकाले हल्लाको पछि नलागी आफ्नो नियमित काम गर्न जिल्लावासीलाई आग्रह गरे ।

आफूसहित जिल्लाका सबै सरोकारवाला निकायले कोशीको स्पर तथा बाँध अनुगमन गर्ने कामलाई निरन्तरता दिएको बताउँदै कोशीमा अहिलेको अवस्थामा कुनै खतरा नरहेको बताए । उनले कोशीको सबै तटबन्ध सुरक्षित रहेकाले कोशी फुट्ने कुरा निराधार भएको बताए ।

अहिले कोशीमा पानीको बहाव एक लाख ७० हजार ६१५ क्युसेक प्रतिसेकेण्ड रहेको र २२ ढोका खोलिएको छ । कोशीको विषयमा भ्रामक हल्ला फैलाउनेको खोजी थालिएको बताउँदै त्यस्ता व्यक्तिलाई कानूनी कारबाही गर्नेसमेत बताए ।

सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझीले कोशी फुट्यो भनेर झुटो हल्ला फैलाउने व्यक्ति पत्ता लगाई कडा कारबाही गरिने बताएका छन् ।


  •  
  •  
  •