सरकारी अस्पतालका बिरामीलाई निजीमा लैजाने दुई दलाल पक्राउ

1003
  •  
  •  
  •  

koshi-anchal-aspatalविराटनगर, २८ असार(ओएनएस) : कोशी अञ्चल अस्पतालमा उपचाकालागि आएका बिरामीलाई निजी अस्पताल र क्लिनीकहरुमा लैजाने दुई जना दलाललाई प्रहरीले पक्राउ गरेको छ । अञ्चल अस्पतालको पहलमा निजी क्लिनिकका दलाल गणपत यादव र महमद कलाम मियालाई आइतवार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

ती दलालले अस्पतालको बहिरङ्ग सेवामा नै गएर बिरामीलाई आफ्ना क्लिनिहरूमा लैजान्थे । दलालहरुले पहाडी जिल्ला र ग्रामिण भेगबाट उपचारकालागि आएका बिरामीलाई अञ्चल अस्पतालको सेवा राम्रो नहुने भन्दै आफ्ना क्लिनिकहरुमा लगेर ठगी गरिरहेका छन् । पटक-पटक अञ्चल अस्पतालमा आएका बिरामीलाई निजीमा लैजान खोज्ने बुद्धनगर–६ का २८ वर्षीय यादव र कदमहा–२ का ३५ वर्षीय मियाँलाई पक्राउ गरिएको छ । मिया र यादवले स्वस्तिका क्लिनिक, ओमसाई क्लिनिक, जनसेवा, क्लिनिक, ममता क्लिनिक लगायतमा लगेर बिरामी ठगी गरिरहेका थिए । क्लिनिक सञ्चालकले एक बिरामी लगेबापत १ हजार रूपैयाँ कमिसन दिएर दलाल खटाएका छन् ।

अञ्चल अस्पताल आसपास बिरामी ठग्ने उदेश्यले खुलेका क्लिनिकहरुले विराटनगरको चोक चोकमा दलाल परिचालन गरेका छन् ।

‘अस्पतालको बहिरङ्ग सेवामा दैनिकजसो दलालहरु सक्रिय रहन्छन् । नाम नखुलाउने सर्तमा अस्पताल सम्बन्धी एक जानकारले भने, ‘सोझा र ग्रामिण भेगबाट आएको जस्ता देखिने बिरामीको पहिचानगरी अस्पतालको सेवा राम्रो छैन् भन्दै क्लिनिक लैजान्छन् ।’ क्लिनिक लगेका बिरामीलाई सञ्चालकले मनोमानी रकम असुल गर्ने गरेका छन् । तिनले भने, ‘आज पक्राउ परेका साना माछा हुन् । ठुला त बाहिरै छन् ।’

पटक-पटक मौखिक चेतावनी दिदा नटेर्ने दलाललाई प्रहरीको सहयोगमा पक्राउ गरिएको कोशी अञ्चल अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन पोखरेलले जानकारी दिए । उनले भने, ‘हामीले पहिलेपनि अस्पतालमा नआओ भनेका थियौ । पटक पटक भन्दा अटेर गरे ।’

अस्पतालमा रहेको प्रहरीविटको सहयोगमा दुई दलालहरुलाई पक्राउ गरिएको हो । अञ्चल अस्पतालमा निजी क्लिनिक र अस्पतालका दलालहरु सक्रिय छन् । सरकारी अस्पतालको सेवा राम्रो छैन भन्ने सर्वसाधरणलाई  भ्रममापारी बिरामीलाई ठगी गने क्लिनिकहरुले दलाल परिचालन गरेका हुन् । अञ्चल अस्पतालका मेसु पोखरेलले अन्य धेरै दलाल सक्रियभएपनि अस्पतालमा भेटिएका र चिनिएका दुईलाई प्रहरीको जिम्मा लगाएको जानकारी दिए ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक तारणीप्रसाद लम्सालले अस्पतालमा आएका बिरामीलाई अन्यन्त्र लैजान खोज्ने दलालहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनले भने, ‘ उपचारकालागि आएका बिरामीलाई नर्सिङहोम र क्लिनिकमा लैजान खोज्नेलाई पक्राउ गरेका छौ ।’ उनले पक्राउ परेकाहरुमाथी अनुसन्धान जारी राखेको जानकारी दिए ।

यसअघिपनि प्रहरीले बिरामीलाई ठगीगरेको भन्दै सुभाष पाठक, विकास चौधरी र इवा यादवलाई पक्राउ गरेको थियो । बिरामी ठगि गर्ने दलालहरुलाई प्रहरीले ठगी मुद्धा नचलाई सार्वजनिक मुद्धा चलाएको थियो । प्रहरीबाट छुटेर आएकाहरुपनि पून त्यही काममा सक्रिय रहेको स्रोतले जानकारी दिएको छ ।


  •  
  •  
  •