कोसीमा बाढी आयो, गाउँ प्रभावित

88
  •  
  •  
  •  

काठमाडौं ३२ जेठ ।
लगातारको वर्षाले कोसी नदीमा दुई दिनदेखि बाढी आएको छ । पूर्वका पहाडी जिल्लामा लगातारको वर्षापछि बाढी आएको हो । साउनदेखि कोसी नदीमा बाढी आउने भएपनि यसवर्ष असार नलाग्दै बाढी आएको कोसी ब्यारेजस्थित नियन्त्रण कक्षका कर्मचारीहरुले जनाए ।

कोसीमा १ लाख ५७ हजार ३ सय ६१ क्यूसेक प्रतिसेकेन्ड शनिवार साँझ ६ बजे मापन गरिएको छ । ‘पहाडी जिल्लामा भइरहेको वर्षा र पहिरो अनुसार नै कोसी नदीमा पनि बहाव घट–बढ भईरहेको छ’, कोसी ब्यारेजस्थित नियन्त्रण कक्षका प्राविधिकले आइतवार साँझ भने, ‘हिजो साँझ पानीको बहाव बढी थियो, तर आज बिहान घटेर कोसीको बहाव ९३ हजार ३ सय १० प्रतिसेकेन्ड मापन भयो भने साँझ ६ बजे पुन: बढेर ९७ हजार ४ सय क्यूसेक प्रतिसेकेन्ड पुगेको छ ।’

बालुवा थुप्राने एसियाकै दोश्रो ठूलो नदी कोसी नै भएकोले कोसी ब्यारेजको बहाव क्षमतमा धेरै कमी आएको छ । कोसी ब्यारेज निर्माणताको बेला कोसी ब्यारेजहुँदै प्रतिसेकेन्ड ९ लाख क्यूसेक पानी बहाव गर्ने क्षमता रहेपनि बालुवा जम्मा भएको कारण अहिले तीन लाख क्यूसेकमै कोसीको पुल नै पानी छुन्न लागेको सप्तरी भारदह १ स्थित कोसी ब्यारेज निवासी सतन मण्डलको भनाई छ ।

कोसी ब्यारेजमा डेढ लाख क्यूसेक भन्दा बढी पानीको बहाव भएपछि नियन्त्रण कक्षले सतर्कतासूचक स्वरुप रातो झण्डा राख्ने अनि रातो बत्तीसमेत बाल्ने गर्छ ।

यसैबीच अविरल वर्षाले सप्तरीस्थित खाँडो नदीमा आईतवार दिउँसो आएको बाढीले यहाँका दर्जनौं गाउँका बासिन्दाहरु प्रभावित हुनपुगेको छ । एकाएक खाँडो नदीमा बाढी आएपनि जिल्लाका तिलाठी, सकरपुरा, लौनियाँ, कोईलाडी मधेपुरा, रम्पुरा मल्हनियाँ गाविसका धेरैजसो गाउँ–टोलका बासिन्दाहरु प्रभावित भएका हुन् । ‘घर र सडकमासमेत केही घण्टा बाढी पस्यो’, तिलाठीका निरजकुमार झाले भने, ‘खाँडो खोलाको मुहान नै पुरिएको र यसक्षेत्रमा बाढी नियन्त्रणको कामसमेत नथालिएकोले सानोतिनो बाढी पनि गाउँ–घरमा पस्दा हामीलाई समस्या भोग्नुपरेको छ ।’
कान्तिपुरबाट


  •  
  •  
  •