चिकित्सक भन्छन्,‘नेपालमा देखिएको ‘कोरोना भाइरस’ खतरनाक छैन’

82
  •  
  •  
  •  

काठमाडौं । नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य देशमा देखिएकोजस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन् ।

काठमाडौं शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य देशमा देखिएजस्तो नेपालमा यो बढी खतरा नभएको बताए ।

उनले भने, ‘चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । तर मृत्यु हुनेमा सबै ७० वर्षभन्दा माथिका र दीर्घरोगी छन् । बालबालिका र युवाहरुमा ज्यानै जानेगरी संक्रमण देखिएको छैन ।’

अस्पतालका अर्का चिकित्सक डा. वासुदेव पाण्डेले सुरुमा स्वाइनफ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिनेजस्ता लक्षण देखिनसक्ने बताए ।
यी लक्षणहरु देखिएपनि चिन्ता लिनुपर्ने अवस्था नरहे पनि चेकअपका लागि अस्पताल जान उनले सुझाव दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनको वुहान प्रान्तबाट सुरुमा यो भाइरसको विस्तृत प्रकोप दर, यसका लक्षण र कति समयपछि असर गर्छ भन्ने कुराहरु अझै अध्ययनकै क्रममा रहेको बताए ।
नेपालमा एक जनामा संक्रमण भेटिएको र उनको सम्पर्कका अन्य व्यक्तिहरुको सूची तयार गरी सबैको अवस्थाका विषयमा जानकारी लिने काम भइरहेको जनाइएको छ ।

चीनसँग जोडिएका नाकाहरु र त्रिभुवन विमानस्थलमा चीनबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ ।


  •  
  •  
  •