कोलकाताका व्यवसायी काठमाडौंमा

380
  •  
  •  
  •  

काठमाडौं, २३ साउन  : नेपालमा लगानीको अवसर तथा सम्भावना अध्ययन गर्न भारतको कोलकाताका व्यवसायीहरूको एक टोली नेपाल आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेर फर्किएलगत्तै बिहीबार नेपाल आइपुगेका उनीहरूको आगमनलार्ई निकै महŒवका साथ हेरिएको छ । नेपाल भ्रमणमा आएको कोलकातास्थित भारत चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलको टोली नेपाली उद्यमी व्यवसायीसँग अन्तरक्रियासमेत गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघमा भएको छलफलमा द्विपक्षीय आर्थिक व्यावसायिक तथा लगानी विस्तार सम्भाव्यताबारेमा बहस भएको महासंघले जनाएको छ ।

महासंघ अध्यक्ष प्रदीपजंग पाण्डेलगायतका पदाधिकारी र भारत चेम्बर अफ कमर्सका अध्यक्ष सज्जन भाजन्काको नेतृत्वको व्यवसायी टोलीबीच छलफल भएको हो । भारत चेम्बर अफ कमर्स कोलकाता कार्य क्षेत्र भएको संस्था हो । कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको समन्वयमा भ्रमण कार्यक्रम आयोजना भएको महासंघले जनाएको छ । प्रतिनिधिमण्डलमा घरजग्गा निर्माण, सिमेन्ट तथा स्टिल, उत्पादनकमूलक उद्योग, काठ तथा प्लाइउड, जलविद्युत्, होजियारी तथा तयारी पोशाकलगायतका क्षेत्रको प्रतिनिधित्व रहेको छ ।

सो अवसरमा नेपालमा प्लाइउड, सिमेन्ट, सिल्क, निर्माण क्षेत्रलगायतमा सहकार्य गर्न सकिने प्रस्व भारत चेम्बरका तर्फबाट राखेको महासंघले जनाएको छ । सो अवसरमा दुवै पक्षले एकअर्कामा व्यवसायिक सम्बन्ध विस्तार तथा सहकार्यका सम्भाव्यतामाथि छलफल गरेका थिए । भारत चेम्बरले कोलकाता बन्दरगाहमा नेपाललाई सहज र सुलभ वस्तु आयातमा सघाउने प्रतिबद्धता आएको महासंघले जनाएको छ ।

प्रतिनिधिमण्डलको स्वागत गर्दै महासंघका अध्यक्ष पाण्डेले नेपालमा लगानीको सही समय भएकाले नेपालमा लगानी गर्न आग्रह गरेका थिए । भारतीय प्रधानमन्त्रीको हालै सम्पन्न नेपाल भ्रमणबाट दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ हुन पुगेको र नेपालको विकास प्रयासमा सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको स्मरण गराउँदै अध्यक्ष पाण्डेले नेपालमा भारतीय व्यवासायीको लगानी अझै सम्भाव्यता बढेको बताए । उनले भारतीय लगानीका लागि आवश्यक सहयोग गर्न महासंघ तयार रहेको विश्वाससमेत दिलाएका छन् ।

भारत चेम्बरका अध्यक्ष भाजन्काले नेपालमा कोलकाताको लगानी विस्तार र लगानीका अवसरबारे अध्ययन गर्न नेपाल आएको जानकारी गराएका थिए । भ्रमणका क्रममा नेपाल सरकार र नेपाली निजी क्षेत्रसँग भेटघाट र छलफल गरी लगानीका कार्यक्रम बनाउने योजना रहेको उनले जानकारी दिए । उनले महासंघका अध्यक्षलाई निकट भविष्यमै ठूलो नेपाली व्यावसायिक प्रतिनिधिमण्डलसहित कोलकाता भ्रमणको निम्तोसमेत दिएका छन् ।

साथै उनले हालै म्यानमारमा संयुक्त लगानीमा एक प्लाइउड उद्योग स्थापना गर्न सफल भएको र त्यस्तै उद्योग नेपालमा पनि स्थापना गर्ने चाहना रहेको जानकारी गराएका थिए । प्रतिनिधिमण्डलले वाणिज्य तथा आपूर्ति मन्त्री, उद्योगमन्त्री, लगानी बोर्ड, विशेष आर्थिक क्षेत्रको कार्यालयका अधिकारीहरूसँग भेट गरी नेपालको लगानी वातावरण एवं लगानीयोग्य क्षेत्रका विषयमा जानकारी लिने कार्यक्रम रहेको छ । साथै प्रतिनिधिमण्डलले उपप्रधान एवं स्थानीय विकासमन्त्री र परराष्ट्र मन्त्रीसँगसमेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।


  •  
  •  
  •