
काठमाडौं । त्यागी नेता भीमबहादुर तामाङको स्मृतिमा मंगलबार राजधानीमा आयोजित एक सार्वजनिक सभामा प्रधानमन्त्री सुशील कोइराला केही उत्तेजित र आक्रोशमिश्रित अभिव्यक्तिका साथ प्रस्तुत भए । उनले कार्यक्रममा भने, ‘संविधान जारी भएको भोलिपल्ट कुर्सी छाड्छु, कसैले शंका गर्नुपर्दैन ।’ सार्क शिखर सम्मेलनमा देखिएको उनको संयोजनकारी छवि र त्यागी नेताको स्मृतिसभाको सन्दर्भलाई नै बिर्साउने गरी उनको रौद्र रुप देखिनुको कारण थियो, दलहरुबीचका छलफल सत्ता साझेदारीका विषयमा मुखर बन्दै जानु, संविधान निर्माण प्रक्रियामा ठोस उपलब्धि नहुनु र सरकारको आयुबारे आफैले तोकेको माघ ८ को समयसीमा नजिकिँदै जानु ।
संविधान जारी हुन्जेलसम्म कुर्सीमा बस्न पाउनुपर्छ भन्ने उनको दलील छ । तर, उनले संविधान कहिले जारी हुन्छ भन्नेतर्फ कुनै संकेतसम्म गरेनन् । संविधानका पक्षमा केकति उपलब्धि भए भन्ने पनि उनले बताएनन् । उनका अभिव्यक्ति संयोजनकारी कम, प्रतिक्रियात्मक बढी थिए । अझ विपक्षीप्रति उनी बढी नै आक्रामक देखिए । सत्ता साझेदार दलका गतिविधिप्रति पनि उनले प्रशस्तै संशय प्रकट गरे ।
फेरि उनको यो आक्रोश यस्तो समयमा देखिएको छ, जतिबेला अर्को सत्ता सहयात्री दल नेकपा एमालेले अन्य दलहरुसँग घनीभूत छलफल चलाएको छ । सोमबार मात्र एमालेले मधेसवादी दलहरुसँग संविधान निर्माण र सत्तासाझेदारीका विषयमा छलफल गरेको थियो । त्यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लाजिम्पाटमै गएर भेटेका थिए ।
पहिला कांग्रेसहरुले राजनीतिको कुरा गर्दा पञ्चहरु गाथगादी ताकेको ठान्थे । पछि त्यही रोग कांग्रेसमा स¥यो र काठमाडौँको सत्ता मेरै ठेक्का हो भन्ने ठान्न थाले कांग्रेसीहरुले ।’
प्रधानमन्त्रीको पदमै रहेर जटिल उपचार पद्धति ‘किमो’ सहेरै सही, केही शारीरिक तन्दुरुस्ती कमाएका कोइरालामा प्रतिक्रियात्मक भाव बढ्नुका पछाडि सत्तामोहको जुन भूमिका देखिन्छ, त्योभन्दा कम छैन शारीरिक अशक्तताका बाबजूद ओलीले देखाएको राजनीतिक क्रियाशीलता । तर, सत्तामोहको अंशलाई राजनेताको स्वाभाविक आकांक्षा मान्ने हो भने तत्कालका लागि ८ माघमै संविधान जारी गर्नुपर्ने अडानका साथ देखिएको ओली सक्रियता मुलुकको हितमा छ र जनताको आकांक्षासँग निकट पनि ।
यसो भन्दैमा संविधानका विवाद मिलाउने नाममा आफूअनुकूलको सत्तासमीकरणको खेललाई नै मूल एजेन्डा बनाइन्छ भने त्यसलाई आमनागरिकले स्वाभाविक ठान्ने छैनन् । तर, कोइरालाको प्रस्तुतिले कांग्रेस नेता प्रदीप गिरीले बेग्लै प्रसंगमा गरेको टिप्पणीलाई सम्झाएको छ । उनले भनेका थिए, ‘पहिला कांग्रेसहरुले राजनीतिको कुरा गर्दा पञ्चहरु गाथगादी ताकेको ठान्थे । पछि त्यही रोग कांग्रेसमा स¥यो र काठमाडौँको सत्ता मेरै ठेक्का हो भन्ने ठान्न थाले कांग्रेसीहरुले ।’
कोइरालाको मनमा पनि शायद एमाले, माओवादी र मधेसवादीले गाथगादी तोके कि भन्ने भाव पैदा भएजस्तो देखिन्छ । र, संविधान जारी नभएसम्म मेरै ठेक्का हो भन्ने भान परेको हुनुपर्छ ।
हो, संविधान निर्माणको नेतृत्व लिन्छु, सबै पक्षलाई मिलाउँछु र सबैलाई मान्य हुने लोकतान्त्रिक संविधान जारी गर्छु भनेर नै कोइराला प्रधानमन्त्री भएका हुन् । एमालेसँगको सम्झौतामा पनि लिखित सहमति त्यस्तै छ ।
[box type=”shadow” ] कुर्सी त्यागेर संविधान जारी हुन्छ र बाँकी सबै कुरा मिल्छन् भने संविधान जारी हुनुअघि नै पनि सत्ता साझेदारीमा लचिलो बन्नुपर्छ ।[/box]
उक्त सहमति पछि पनि उनले बारम्बार सार्वजनिक रुपमा बोलेका छन्, माघ ८ भित्र संविधान जारी हुन्छ र यो सरकारको आयु पनि त्यही दिनसम्मका लागि हो । तर, मंगलबार उनको बोली र लवज पूरै फरक छ । उनी माघ ८ को समयसीमालाई धेरै महत्व दिन चाहेका छैनन् र संविधान नबनेसम्म आफू प्रधानमन्त्री भइरहनुपर्छ भन्ने उनको आशय छ, जुन कोइरालाकै निम्ति सुहाउने खालको छैन ।
कसैले उनलाई ‘सन्त’ नभने पनि अहिलेसम्म विवाह नगरी बसेकाले कोइराला अझै पनि सांसारिक मोहजालभन्दा माथि नै छन् भन्ने कुराको दृष्टान्त बन्ने पर्याप्त ठाउँ छ । त्यसैले यदि यो मुलुकमा सहमतिको संविधान जारी भई दीर्घ शान्ति र अमनचैन कायम होस् भन्ने उनी चाहन्छन् भने सत्तासाझेदारीको विषयमा समेत उनी निर्धक्कसँग छलफल गर्न तयार हुनुपर्छ । र, उनमा साँच्चै सत्ताको मोह छैन भन्ने प्रमाणित गरिदिनुपर्छ । उनले कुर्सी त्यागेर संविधान जारी हुन्छ र बाँकी सबै कुरा मिल्छन् भने संविधान जारी हुनुअघि नै पनि सत्ता साझेदारीमा लचिलो बन्नुपर्छ ।
कम्तीमा यस्तो समयमा सुशील कोइराला आफैले शब्दको जाल रचेर राजनीतिलाई अल्मल्याउने काम गर्नु हुँदैन ।
संविधान पहिले कि सत्ता साझेदारी पहिले भन्ने कुराको अन्त्यहीन विवादभित्र राजनीतिलाई हिँडाइयो भने संविधान निर्माणको काम झन् अनिश्चयमा जानेछ । दलहरुबीच द्वन्द्व बढ्नेछ । अहिले त कोइराला कुनै दल वा विवादका पक्ष बन्नुहुँदैन । उनी समन्वयकारी भूमिकामै रहनुपर्छ । त्यो भूमिका उनलाई सुहाउँछ पनि । जति बढी त्याग, आफ्नै बोलीप्रतिको निष्ठा उनले देखाउनेछन्, त्यति नै सजिलोसँग राजनीतिको गाँठो फुक्नेछ । उनको यस्तै भूमिकाले नै दिवंगत नेता भीमबहादुर तामाङप्रति सच्चा सम्मान हुनेछ । र, उनको आत्माले पनि शान्ति पाउनेछ ।