अमेरिकामा रहँदा प्रधानमन्त्री कोइरालाको दिनचर्या

244
  •  
  •  
  •  

मृदुला कोइराला

केटाकेटी हुँदादेखि नै मैले प्रधानमन्त्री सुशील कोइरालालाई चिनेकी हुँ । म कोइराला परिवारकी भान्जी हुँ । बाल्यकालदेखि नै कोइराला परिवारको सदस्य भएर हुर्किएँ । मलाई उहाँँको सरलता मन पर्छ । अत्यन्त साधारण स्वभावको हुनुहुन्छ । यसपालि अमेरिकामा उपचार गर्न पुग्नुभएको वेला उहाँको हेरचाह गर्ने अवसर जुर्‍यो । उहाँले आफू प्रधानमन्त्री हुँ भन्ने छनक कहिल्यै दिनुभएन । उहाँको खराब पक्ष यसपालि फेला पारेँ । उहाँ खराब बिरामी हुनुहुँदो रहेछ । असल नेता बन्दा उहाँ खराब बिरामी बन्न पुग्नुभएको छ । बिरामी अवस्थामा पनि उहाँ देश र कार्यकर्ताबारे बढी चिन्तित रहने गर्नुहुन्छ ।

डाक्टरले फोक्सोमा क्यान्सर छ भनेर पहिलोपटक सुनाउँदा उहाँ  रत्तिभर पनि आत्तिनुभएन । त्यसलाई उहाँँले सहज रूपमा लिनुभयो । उहाँँले  यसअघि पनि क्यान्सरको सामना गरिसक्नुभएको थियो । त्यसैले क्यान्सर उहाँँका लागि नौलो भएन । ‘फेरि लागेछ क्यान्सर, अब निको पार्नुपर्छ,’ उहाँँले भन्नुभयो । हामी भने बेपत्ता आत्तिएका थियौँ । उहाँँले यसलाई ‘लाइट्ली’ लिँदा हामीलाई अलिक सहज भयो ।

अमेरिकमा उपचार गराएपछि उहाँँको फोक्सोको क्यान्सर पूर्ण रूपमा हटेको छ । जिब्रोको क्यान्सरको उपचारका लागि उहाँँले अमेरिकामा वेलावेलामा फलोअप चेक गराउने गर्नुभएको छ । फोक्सोको क्यान्सरको फलोअप चेकका लागि डाक्टरहरूले उहाँँलाई तीन महिनापछि फेरि अमेरिकामा बोलाएका छन् ।

क्यान्सरको उपचार गर्ने क्रममा यसपटक उहाँँलाई अमेरिकामा पाँचपटक रेडियोथेरापी गरिएको थियो । रेडियोथेरापी गरेपछि जिब्रोको स्वाद लिने क्षमतामा कमी आउँदो रहेछ । यसले  गर्दा खानपिनमा समस्या देखिँदो रहेछ । रेडियोथेरापी गराएकाहरूलाई कतिपय खानेकुरा हेर्नै मन नलाग्ने हुँदो रहेछ । केही हप्तासम्म यस्तो अरुचि रहँदो रहेछ । किमोथेरापी गर्दा रौँ खस्ने गर्छ तर रेडियोथेरापी गर्दा रौँ झर्ने हुँदैन रहेछ ।

अमेरिकामा उपचाररत रहँदा उहाँँको खान्कीमा खासै परिर्वतन आएन । दैनिकी पनि उस्तै रह्यो । यहाँजस्तै उता पनि उहाँँ बिहानै उठ्नुहुन्थ्यो । उता पनि कार्यकर्ताहरू भेट्न आइरहन्थे । त्यति सन्चो छैन, त्यसैले आराम गर्नुस्, कार्यकर्तालाई सकेसम्म नभेट्नुस् भनेर कर गर्थें । तर, उहाँँ मान्नुहुँदैनथ्यो ।

हामी अमेरिकास्थित नेपाली राजदूतको आवासमा बसेका थियांँ । उहाँँले नेपालमा फोन गरिरहनुहुन्थ्यो । खालि यताकै कुरा गर्नुहुन्थ्यो । उहाँँलाई आफ्नो स्वास्थ्यको भन्दा पनि देशको चिन्ता बढी भएझैँ देखिन्थ्यो । नेपालमा भइरहेका घटनाबारे अप्डेट रहनुहुन्थ्यो । अमेरिका बसाइका क्रममा मैले उहाँँमा देशप्रति गहिरो चिन्ता रहेको पाएँ । निर्धारित समयमै संविधान बनोस् भन्ने चाहना उहाँँ व्यक्त गरिरहनुहुन्थ्यो ।

आराम गर्नुस् भनेर आग्रह गरेको उहाँँलाई फिटिक्क मन पर्दैनथ्यो । यसो भन्दा हामीलाई उल्टै गाली गर्नुहुन्थ्यो । ‘मलाई त्यस्तो के नै भएको छ र आराम गर्नलाई ?’ भन्नुहुन्थ्यो ।
उहाँँ मिजासिलो स्वभावको हुनुहुन्छ, ख्यालठट्टा गर्न मन पराउने । हामीसँग जिस्किरहनुहुन्थ्यो । वेलावेलामा किताब पढ्नुहुन्थ्यो । फिल्म हेर्न उहाँँलाई रमाइलो लाग्छ भन्ने हामीलाई थाहा छ । त्यसैले टिभीमा फिल्म लगाइदिन्थ्यौँ । खुब रमाउँदै फिल्म हेर्नुहुन्थ्यो । अमेरिकामा नेपाली फिल्मको डिभिडी त्यति पाइँदैन । त्यसैले उता रहँदा उहाँँले प्राय: हलिउडका फिल्म हेर्नुभयो । राजनीतिक विषयमा आधारित फिल्ममा उहाँँको विशेष चाख थियो ।

स्वास्थ्य बिग्रिन नपाओस् भनेर हामी उहाँँलाई हिँड्न प्रेरित गथ्र्यौं । समुद्री किनारतिर ‘वाक’ गर्न निस्किनुहुन्थ्यो । हामी पनि सँगै जान्थ्यौँ । दिनमा करिब एक घन्टा हिँड्नुहुन्थ्यो । हिँड्न पाउँदा रमाइलो मान्नुहुन्थ्यो । डाक्टरहरूले उहाँलाई भिडभाडमा त्यति नबस्नुस्, भेटघाट सकेसम्म नगर्नुस् भनेका थिए । भेटघाट गर्दा संक्रमण हुने सम्भावना बढी हुन्छ भन्ने डाक्टरहरूको भनाइ थियो । रेडियोथेरापी गर्दा शरीरको प्रतिरक्षा प्रणली कमजोर भएको हुन्छ । प्रतिरक्षा प्रणाली कम भएको वेलामा संक्रमणसँग संघर्ष गर्ने क्षमता कम हुन्छ । त्यसैले भेटघाट कम गर्नुहोस् भनेर डाक्टरहरूले सल्लाह दिने गर्थे । हामीले उहाँलाई कम भेटघाट गर्न बाध्य पार्न खोज्थ्यौँ । तर, भेट्न आउनेहरूसँग भेट्न देऊ, कसैलाई पनि नफर्काऊ भनेर उहाँले उर्दी जारी गर्नुभएको थियो । उहाँको यस्तो बानी देखेपछि मलाई लाग्यो– उहाँले जिन्दगीमा कमाएको भनेको यिनै कार्यकर्ता रहेछन् । उहाँको सम्पत्ति भनेको कार्यकर्ता नै रहेछन् ।

सात घन्टा हवाइजहाज चढेर कार्यकर्ताहरू उहाँलाई भेट्न आउने गर्थे । क्यालिफोर्नियादेखि न्युयोर्क आउन हवाइजहाजमै ६ घन्टा लाग्छ । ६ घन्टा हवाइयात्रा गरेर आएका कार्यकर्तालाई ‘प्रधानमन्त्रीज्यूसँग नभेट्नु’ भन्न मुख नै लाग्दैनथ्यो । कार्यकर्ताहरूले उहाँप्रति देखाएको श्रद्धा र मायाममता देखेर हामी चकित पर्‍यौँ ।

उहाँको हेरचाह, आहारविहारमा कुनै कमी आउन दिएनौँ, हामीले । औषधी नियमित खुवाउँथ्यौँ । अहिले पनि उहाँले औषधी खाइरहनुभएको छ । डाक्टहरूले भेटघाट कम गर्नुस् भनिरहेका छन् । तर, उहाँले महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाट गरिरहनुभएको छ । प्रधानमन्त्रीले गर्नुपर्ने काम उहाँले नियमित रूपमा गरिहरनुभएको छ ।

बिरामीले पालना गर्नुपर्ने कतिपय नियम उहाँ मान्नुहुँदैनथ्यो । स्वास्थ्यको फिटिक्कै चिन्ता गर्नुहुँदैनथ्यो । छोराछोरी नभएकाले परिवारको चिन्ता गर्ने कुरै आएन । देश र जनताप्रति उहाँमा ठूलो चिन्ता रहेको मैले पाएँ । जहिले पनि उहाँ ‘देशको विकास गर्नुपर्छ’ भन्नुहुन्थ्यो । भेट्न आउने सबैलाई भन्ने गर्नुहुन्थ्यो, ‘तपाईंहरू नेपाल फर्कनुस्, म वातवारण बनाउँछु, तपाईंहरू फर्किने । सबैले मिलेर नेपाल बनाऔँ ।’

उहाँँलाई माया गर्ने थुप्रै छन् । प्रधानमन्त्री नहुँदा पनि उहाँको घरव्यवहार कार्यकर्ताहरूले चलाएका थिए । उहाँले केही सम्पत्ति जोड्नुभएको छैन । साँच्चिकै, कार्यकर्ताबाहेक उहाँसँग अर्थोक केही छैन । धनसम्पत्ति, परिवार जे भने पनि कार्यकर्ता नै हुन् ।

उहाँँ एक किसिमको राजनीतिक जोगी हुनुहन्छ । मलाई त्यस्तै लाग्छ । उहाँले सबै कुरा त्यागिसक्नुभएको छ । राजनीतिमै रहेर पनि उहाँ त्यागी बन्नुभएको छ । खानेकुरामा उहाँ असाध्यै सन्तोषी हुनुहुन्छ । ‘यो खान्छु, त्यो खाँदिनँ’ भनेर कहिल्यै भन्नुहुन्न । जे पकाएर दिए पनि कुपुकुपु खाइदिनुहुन्छ । कहिलेकाहीँ उहाँलाई सोध्ने गर्छु, ‘तपार्इंलाई कुन खानेकुरा मन पर्छ ?’

‘सबै कुरा मन पर्छ,’ उहाँको जवाफ प्राय: यस्तै हुन्छ । पुराना गीत सुन्न उहाँ मन पराउनुहुन्छ । अमेरिकामा रहँदा उहाँ गीत सुनिरहनुहुन्थ्यो ।

प्रधानमन्त्रीज्यूको धर्ममा गहिरो आस्था छ । उहाँँ पशुपतिनाथ मन्दिरको चन्दन सधैँ लगाउने गर्नुभएको छ । मनमा आस्था भएपछि सधैँ मन्दिर गएर पूजाअर्चना गरिरहनुपर्छ भन्ने छैन । भेट गर्न आएका साधुसन्तसँग भेट्न रुचाउनुहुन्छ । उहाँहरूले दिएका माला लगाउने गर्नुहुन्छ, प्रसाद ग्रहण गर्नुहुन्छ ।

कहिलेकाहीँ झनक्क रिसाउनुहुन्छ, उहाँ । मन नपर्ने कुरा गर्‍यो भने रिसाइहाल्नुहुन्छ । मसँग पनि थुप्रैपटक रिसाउनुभएको छ । भनिन्छ नि– केटाकेटी, बिरामी र बुढाबुढीलाई हेर्न निकै गाह्रो हुन्छ । यो भनाइ एकदमै सत्य लाग्यो, मलाई ।

उहाँँलाई खान मन नलागेको वेला खान भन्यो भने रिसाउनुहुन्थ्यो । थोरै खाने बानी लागिसकेको थियो, उहाँलाई । एक किसिमबाट अल्पहारी बन्नुभएको थियो । बिहान ब्रेकफास्ट गरेपछि दिनभरिलाई पुग्छझैँ गर्नुहुन्थ्यो । लन्च भरिसके खान नपरे हुन्थ्यो जस्तो गर्नुहुन्थ्यो । डाक्टरहरूले खानमा जोड गर्नुपर्छ भनेका थिए । उहाँजस्तो अल्पहारी र जोगी व्यक्तिलाई खुवाउन अत्यन्त कठिन भयो । अल्पहार उहाँको जीवनशैली बनिसकेको छ ।

उहाँको जम्मा सम्पत्ति भनेको तीनवटा मोबाइल सेट हो भन्ने मैले पढेकी थिएँ । उहाँलाई सम्पत्ति जोड्ने कुनै लालसा छैन । केही किनिदिन खोज्दा गाली गर्नुहुन्थ्यो ।

हामीले प्रधानमन्त्री निवास बालुवाटारमा दुईवटा साधारण कुर्सी मगाउन खोज्यौँ । उहाँले मान्नुभएन । यहाँ मान्छे भेट्न आइरहन्छन् । दुईवटा एकदमै साधारण कुर्सी मगाऔँ भनेर हामीले आग्रह गर्‍यौँ । तर, मान्नुभएन । ‘काम चलेकै छ नि, सरकारी कोषको सम्पत्ति विनासित्ती किन सक्नु’ भन्नुभयो । उहाँको उपचार खर्च सरकारले बेहोर्ने हो । अमेरिकामा हामी सुविधाजनक होटलमा बसेर उहाँको उपचार गराउन सक्थ्यौँ । तर, उहाँले राजदूतनिवासमा दु:ख–सुख गरेर बस्न रुचि देखाउनुभयो । उहाँको उपचारमा कति खर्च भयो, मलाई थाहा भएन । तर, सकेसम्म कम खर्च होस् भन्ने उहाँको ध्याउन्न थियो । मृदुला कोइराला प्रधानमन्त्री सुशील कोइरालाकी भान्जीहुन ।

नयाँपत्रिका दैनिबाट


  •  
  •  
  •