कांग्रेस महामन्त्रीमा शशांक कोइरालाको जित

306
  •  
  •  
  •  

काठमाडौं, २५ फागुन (ओएनएस) : नेपाली कांग्रेसको महामन्त्रीमा बीपी पुत्र शशांक कोइराला विजयी भएका छन् । १३ औं महाधिवेशनमा आइतबार भएको निर्वाचनको आज गरिएको मतगणनामा अर्जुननरसिंह केसी र गगन थापालाई हराउँदै शशांक महामन्त्री निर्वाचित भएका हुन् ।

निर्वाचन समितिले आधिकारिक घोषणा गर्नमात्र बाँकी छ । सभापतिमा रामचन्द्र पौडेल शेरबहादुर देउवासँग फराकिलो मत अन्तरले पराजित भए पनि महामन्त्रीमा शशांकले देउवा प्यानलका अर्जुननरसिंह केसीलाई हराएका छन् ।

पदाधिकारीमा मिश्रित मत परिणाम आएपछि कांग्रेस नेता कार्यकर्ताहरु उत्साहित छन् । कुनै एक प्यानलको मात्र जित हुनुभन्दा संयुक्त परिणाम आएकामा उनीहरुले खुसी मनाएका छन् । मत परिणाम सुन्न पार्टी केन्द्रीय कार्यालय सानेपामा भेला भएका कार्यकर्ताहरुले ‘जित कसको कांग्रेसको’ भन्दै नारा लगाएका छन् ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका कान्छा छोरा शशांक कोइरालाको जन्म २०१५ सालमा विराटनगरमा भएको हो । २०६७ मा भएको १२ औं महाधिवेशनमा चौथो स्थानको मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भए कोइराला २०६४ र २०७० मा भएको पहिलो र दोस्रो संविधानसभामा नवलपरासी जिल्लाबाट निर्वाचित भएका हुन् ।

लामो समय चिकित्सा पेसामा संलग्न रहेका आँखा रोग विशेषज्ञ डाक्टर कोइराला २०४६ सालको जनआन्दोलनमा चिकित्सकहरूका तर्फबाट सहभागी भएका थिए ।


  •  
  •  
  •