राजकीय सम्मानका साथ कोइरालाको आज अन्त्येष्टि

112
  •  
  •  
  •  

काठमाडौं २७ माघ (ओएनएस) :  दिवंगत कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको आज अन्त्येष्टि गरिने भएको छ । राजकीय सम्मानका साथ उनकोे आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । सेनाले तोपको सलामी दिनेछ । स्वर्गीय कोइरालाको सम्मानका लागि तोप, सलामीलगायत अन्य व्यवस्था मिलाउन रक्षा तथा गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।

कोइरालाको पार्थिव शरीर आज दुई बजेसम्म दशरथ रंगशालामा राखिने छ । बिहान ९ बजेदेखी २ बजेसम्म कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिने व्यवस्था मिलाइएको छ । २ बजेबाट शवयात्रा त्रिपुरेश्वरबाट सुरु भएर पुतलीसडक–कमलपोखरी–मैतीदेवी–गौशाला हुँदै पशुपति आर्यघाट पुग्नेछ । स्वर्गीय कोइरालालाई उनका भतिजा अतुल कोइरालाले दागबत्ती दिने परिवारले बताएको छ ।

शोक मनाउन आज सार्वजनिक बिदा दिइएको छ भने २८ गतेसम्म देशभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि सरकारले गरेको छ । राष्ट्रिय सम्मानसहितको अन्त्येष्टि कार्यको समग्र समन्वय गर्न गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई जिम्मा दिइएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित रंगशालामा कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको आज पनि भीड लागेको छ । कोइरालाको मंगलबार बिहान करिब १ बजे निधन भएको थियो । स्वर्गिय कोइराला २ बर्ष अघि माघ २७ गते नेपालका ३७ औं प्रधानमन्त्री बनेका थिए । आजै उनको अन्तेष्टि हुन्दैछ ।


  •  
  •  
  •