कोहलपुरमा लगाइएको निषेधित क्षेत्र हटाइयो

100
  •  
  •  
  •  

बाँके । कोहलपुर क्षेत्रमा लगाइएको निषेधित क्षेत्र बाँके प्रशासनले मंगलबार हटाएको छ ।  ट्रकले ठक्करबाट कोहलपुरकी १२ वर्षीय प्रकृति चन्द घाइते भएपछि सडकमा उत्रिएका विद्यार्थीलाई मत्थर बनाउन बाँके प्रशासनले कोहलपुर क्षेत्रका केही संवेदनशील क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

आइतबार बेलुकीबाट लागू गरिएको निषेधित क्षेत्र मंगलबार बिहानदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

कोहलपुरमा बिहान सद्भाव ¥यालाीसँगै निषेधित क्षेत्र फुकुवा गरिएको हो । प्रशासनले पूर्वमा रोहिणी खोला, पश्चिममा किरण नाला, उत्तरमा नौबस्ता चोक र दक्षिणमा पिपरी चोकसम्म कुनै सभा, सम्मेलन, हुलहुज्जत, प्रदर्शन गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो ।

बजार खुलेपछि यातायातका साधन संचालनमा आएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । त्रिभुवन मावि कोहलपुर कक्षा ७ मा अध्ययनरत बालिका चन्दलाई ट्रकले ठक्कर दिएपछि आइतबार कोहलपुर तनावग्रस्त भएको थियो ।

नेपाल विद्यार्थी संघले सोमबार कोहलपुर बन्द आह्वान गरेसँगै जनजीवन प्रभावित भएको थियो । बालिका चन्दको ललितपुरको ग्वार्कोस्थित बि एन्ड बी अस्पतालमा उपचार भइरहेको छ ।


  •  
  •  
  •