कोहलपुर तनावग्रस्त, प्रशासनले लगायो कर्फ्यू

521
  •  
  •  
  •  

बाँके । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि आइतबार कोहलपुर तनावग्रस्त बनेको छ ।

कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएको हो । दुर्घटनालगत्तै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ट्रकमा आगो लगाएका थिए ।

सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर समेत गरेको थियो ।
झडपमा केही प्रहरी र प्रदर्शनकारी पनि घाइते भएका छन् । आक्रोशित विद्यार्थीहरुले सडकमा रहेका गाडीमा समेत ढुंगा प्रहार गरेका थिए ।

कोहलपुरबाट नेपालगञ्ज आउँदै गरेको मालवाहक ट्रकले विद्यालयमा अध्ययनरत विद्यार्थी चन्दलाई ठक्कर दिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कोहलपुरबाट नेपालगञ्जतर्फ आइरहेको ट्रक ना२ख ९४५९ नंको ट्रकको ठक्करबाट प्रकृतिको अवस्था यकिन भएको छैन ।
आफ्ना बुबासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो । जेब्राक्रसिङ नजिकबाट सडक पार गर्ने क्रममा सोही दिशाबाट आएको ट्रकले ठक्कर दिँदा प्रकृतिलाई केही परसम्म घिसारेर लगेको थियो ।

दुर्घटनामा प्रकृतिको बुबासमेत घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रकृति र उनको बुबालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको थियो ।

यस्तै आक्रोशित विद्यार्थीले नेपालगञ्ज–कोहलपुर रुटमा चलेका दर्जन गाडीमा तोडफोड गरिदिएका छन् । दुर्घटनापछि कोहलपुरमा धेरै संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कोहलपुरमा कर्फ्यू

दुर्घटनाको विषयलाई लिएर विद्यार्थीको प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू लगाएको छ ।

कोहलपुरस्थिर त्रिभुवन माध्यामिक विद्यालयको कक्षा सात अध्ययनरत बालिका प्रगती चन्दको दुबै खुट्टा ट्रकको ठक्करबाट गुमेपछि विद्यार्थीले गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको हो ।

प्रदर्शन झनै चर्कदै गएपछि प्रहरीले कोहलपुरका केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको प्रशासन कार्यालयले जानकारी दिएको छ ।


  •  
  •  
  •