काठमाडौंं, १९ मंसिर (अाेएनएस) : पुस १ गतेदेखि काठमाडौंको टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु पर्खेर बस्न नपाउने गरी काठमाडौं महानगरपालिकाले ‘पिक एण्ड ड्रप’ कार्यक्रम तयारी थालेको छ।
एउटा सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको, इन्धन जलेर वातावरणमा ह्रास आएकोले यस प्रकारको समस्यामा न्युनीकरण गर्न ‘पिक एण्ड ड्रप’ कार्यक्रम तयारी थालेको महानगरले जनाएकाे छ।
महानगरका मेयर विद्यासुन्दर शाक्यले भने, ‘अब यातायात व्यवसायीसँगै सरकारी सरोकारवाला कार्यालयको सहकार्यमा ‘पिक एण्ड ड्रप’ कार्यक्रम लागू गर्छौ।’
महानगरका प्रमुख प्रशाशकीय अधिकृत यादवप्रसाद कोइरालाले भने, ‘टुँडिखेललाई केन्द्रमा राखेर हेर्दा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीदेखि भद्रकालीसम्म सबैभन्दा बढी समस्या छ । यस ठाउँबाट विभिन्न रुट भएर विभिन्न ठाउँमा विभिन्न कम्पनीका सवारी साधन चल्छन् । सवारी साधन आफैंका बीचमा पनि स्वच्छ प्रतिस्पर्धा छैन।’
रुट पहिचान र साना सवारी साधनलाई ठूला साधनमा रुपान्तरण गर्न ‘पिक एण्ड ड्रप’ कार्यक्रमबाट उपयुक्त रहेकाे उनकाे भनाइ छ।
महानगरका सहसचिव डा. टोकराज पाण्डेले नमूनाका रुपमा निश्चित ठाउँमा ‘पिक एण्ड ड्रप’ लागू गर्ने र यसको प्रभाव विश्लेषण गरेर विस्ता गरिने बताए।
यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले यस अघि विभिन्न समितिले दिएको रुट स्वीकृतको पूर्ण विवरण विभागमा नभएकाले समस्या भएको कुरा उल्लेख गर्दै पुस १ गतेदेखि कार्यान्वयन तयारीमा रहेका काठमाडौंका ६६ वटा रुटको प्रभावकारी सञ्चालनमा पनि साझेदारी हुनुपर्नेमा जोड दिए।
महानगरीय प्रहरी कार्यालय रानी पोखरीका प्रहरी नायव महानिरीक्षक शैलेश थापाले पूर्वाधार तयार भएपछि व्यवहार परिवर्तनमा सहज हुने बताए।
महानगरले ५ सदस्यीय समिति समेत गठन गरेको छ । महानगरको सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरको संयोजकत्वमा गठित समितिको सदस्यमा सडक डिभिजन कार्यालय काठमाडौंका सिनियर डिभिजन इञ्जिनियर रामबहादुर गुरुङ्, साना ठूला सवारी एकान्तकुनाका उपसचिव बसन्त पन्थी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक कृष्णदत्त भट्ट छन्। सदस्य सचिवमा नगर प्रहरी महाशाखाका प्रमुख बिष्णु जोशी छन्।