चौथो जीत दर्ता गर्दै कोलकाता उक्लियो शीर्षस्थानमा

204
  •  
  •  
  •  

Vivo IPL 2016 M20 - RPS v KKRकाठमाडौँ, १३ बैशाख(ओएनएस) : जारी इण्डियन प्रिमियर लिग(आईपिएल)मा कोलकाता नाइट राइडर्स पुनः शीर्ष स्थानमा उक्लिएको छ । राइजिङ पुणे सुपरजाइन्ट्सलाई २ विकेटले पराजित गर्दै ५ खेलमा ४ खेलमा जित हासिल गरेपछि कोलकाता शीर्ष स्थानमा उक्लिएको हो ।

कोलकाताको ५ खेलबाट ८ अंक भएको छ भने गुजरातले पनि ५ खेलमध्ये ४ खेलमा जित हासिल गर्दै ८ अंक जोडेर नेटरनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ । यस्तै पुणे भने पुछारबाट दोस्रो स्थानमा रहेको छ । पुणेले खेलेका ५ खेलमध्ये मात्र १ मा जित हासिल गर्दै २ अंकका साथ अंकतालिकाको सातौँ स्थानमा रहेको छ ।

गयराती सम्पन्न खेलमा पुणेले दिएको १ सय ६१ रनको विजय लक्ष्य पछ्याएको कोलकाताले ८ विकेट गुमाएर ३ बल बाँकी रहँदै जित हासिल गरेको थियो । कोलकातालाई जित दिलाउनका लागि सुर्यकुमार यादवले सर्वाधिक ६० रन जोडेका थिए । यस्तै, युसुफ पठानले ३६ रन जोडेका थिए । पुणेका लागि एल्बी मोर्केल, थिसारा परेरा, रजत भाटियाले समान २-२ विकेट लिएका थिए भने मुरुगन आश्विनले १ विकेट लिएका थिए ।

यसअघि ब्याटिङ गरेको पुणेले निर्धारित २० ओभरको खेलमा आफ्ना ५ विकेट गुमाएर १ सय ६० रन जोडेको थियो । उसका लागि अजिक्य रहाणेले सर्वाधिक ६७ रन जोडेका थिए भने स्टेभन स्मिथले ३१ रन, महेन्द्र सिंह धोनीले २३ रन जोडेका थिए । यता कोलकाताका लागि सकिब अल हसन, सुनिल नारायन, राजागोपाल सथिश, उमेश यादवले समान १-१ विकेट लिएका थिए ।

यसअघि आइतबार नै भएको खेलमा गुजरात लाइन्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ६ विकेटले पराजित गरेको छ । विराट कोह्लीले मेडन शतक प्रहार गरेर टोलीलाई १ सय ८० रनको स्कोरमा पुर्‍याए पनि उनले हार भने टार्न सकेनन् । उनले ६३ बलमा १ सय रन पुरा गरेर अविजित रहेका थिए ।

१ सय ८१ रनको विजय लक्ष्य पछ्याएको गुजरातले ३ बल बाँकी रहँदा ४ विकेट गुमाएर उक्त लक्ष्य हासिल गरेको थियो । उसका लागि दिनेश कार्तिकले अविजित ५० रन जोडेका थिए भने ड्वेन स्मिथले ३२ रन, ब्राण्डन म्याकुलमले ४२ रन, सुरेश रैनाले २८ रन जोडेका थिए ।


  •  
  •  
  •