पाँच दिनमा किरिया सक्दा………..

358
  •  
  •  
  •  

मैले बुबाको किरिया पाँच दिनमा सकेपछि थाहा पाएँ, ‘काजकिरिया पाँच दिनमा झार्नुपर्छ भन्ने सोचाइ धेरै मान्छेमा रहेछ।’ समवेदना प्रकट गर्न आएका धेरै आफन्त र शुभचिन्तकले भने, ‘ठिक हो, राम्रो गर्नुभयो। कसै न कसैबाट सुरुआत गर्नु थियो, धेरैले नाममात्रको १३ दिन बारेका थिए- तपाईंहरूले विधि नघटाई दिन छोट्ट्याउनुभयो, जुन आजको आवश्यकता हो।’
यसो भन्नेहरूलाई मैले अब तपाईं पनि पाँच दिनै गर्नुहुन्छ होला नि? भनेर सोध्दा कोहीचाहिँ हच्किए। कोहीले पाँच दिन गर्नु त राम्रो हो तर आफूबाट सुरु गर्नु हुन्थेन अरूले गरेपछि गर्नुपथ्र्यो भने।

मृत्युसंस्कार कसरी र कति दिनमा सक्ने भन्नेमा मानिस स्वतन्त्र छ। काजकिरिया नगर्नेहरूले पनि समाज र शास्त्रबाट छुट पाएका छन्। संसारभर जाति र धर्मअनुसार काजकिरिया फरक ढंगले गर्दै आएको पाइन्छ। हामी दाजुभाइले पनि त्यही गर्‍यौं।

पुस १६ गते साँझपख बुबाको निधन भएपछि सुनसरीमा रहेका दाजुलाई पर्खियौं। भोलिपल्ट आर्यघाटमा दाहसंस्कार गरिरहँदा शंकरप्रसाद पोखरेलले बुबाले लिखित रूपमा आफ्नो मृत्युसंस्कार पाँच दिनमै गरिदिनु भनेको स्मरण गराउँदै मलामीलाई जानकारी गराउनुभयो। कसैले विरोध वा प्रतिक्रिया नजनाएपछि सजिलो भयो।
२०६९ भदौमा आमाको काजकिरिया १३ दिन गरेका थियौं। आमाको निधन हुँदा म क्यानडास्थित दूतावासमा कार्यरत थिएँ। आउन दुई दिन लागेको थियो। आमाले भए मान्नु हुन्थेन पनि।
नचाहेको भए बुबाको पनि १३ दिन नै गथ्र्यौं। तर अब पाँच दिनमा नसक्दा पनि बुबाको अन्तिम इच्छा र चाहना मार्नुपर्ने हुन्थ्यो। जीवनभर हामीलाई सन्तोष हुन्थेन। बुबाको इच्छा पूरा गरेकोमा सन्तुष्ट छौं। १३ दिने कर्मलाई पाँच दिने बनाएको होइन, विकल्प अपनाइएको हो। यसलाई म फड्को मारेको भन्दिनँ।
बीपी कोइरालालगायत ठूला नेताले किरिया नै गरेनन् त्यो समयमा। त्यो काम फड्को मारेको अवश्य हो। तर अहिले केवल समयानुकूल महसुस हुँदै आएको कुराको परिपूर्ण विकल्प हो। आमाको १३ दिने संस्कार गर्ने पण्डित रुद्र आचार्यसँग विधिबारे सोध्दा शास्त्रीय तर्कसहित चित्तबुझ्दो उत्तर आएपछि हाम्रो परिवार पाँचदिने मृत्युसंस्कार गर्न राजी भएको हो।
फड्को पचाउन मान्छेलाई कठिन हुँदोरहेछ तर विकल्प स्वीकार्न सहज हुँदोरहेछ। त्यसैले पाँचदिने घटना परिवर्तन होइन, विकल्पको प्रस्तुति हो, सामाजिक एप्रोच हो। मलाई पाँचदिने काजकिरियाको विरोधी थुप्रै होलान्, जबाफ दिनुपर्छ भन्ने लागेको थियो तर त्यस्तो भएन।
आर्यघाटमा दाहसंस्कार गरिरहँदा शंकरप्रसाद पोखरेलले बुबाले लिखित रूपमा आफ्नो मृत्युसंस्कार पाँच दिनमै गरिदिनु भनेको स्मरण गराउँदै मलामीलाई जानकारी गराउनुभयो। कसैले विरोध वा प्रतिक्रिया नजनाएपछि सजिलो भयो। 
पहिले १३ दिन हरेक ढंगले उपयुक्त थियो। अहिले समयले कोल्टे फेरेको छ। व्यस्त समयमा विधि नघटाई दिन छोट्ट्याएर काम गर्नेलाई र काममा आबद्ध हुने सबैलाई सहज हुने रहेछ।  किरियापुत्रीलाई भेट्न आउनेले पनि यसले निरन्तरता पाउनुपर्छ भन्ने प्रोत्साहन दिए। केहीले भने, ‘आफैंबाट सुरु नगर्नुपथ्र्यो, विरोध आयो भने? आलोचनाको भागीदार नबन्नु राम्रो।’
रोगले च्यापेका र पुसमाघको ठिहीमा चिसोले रोगी हुने मानिसको विवशतालाई पनि पाँचदिने कर्मले विकल्प दिएको छ। अप्ठ्यारो मान्दै १३ दिन बार्नेहरूले पनि सहज रूपमा पाँच दिन बार्न बाटो खुलेको छ। पाँच दिनमा काजकिरिया सक्ने भन्ने समाचार आएपछि यसरी थुप्रै सार्वजनिक व्यक्तित्वसमेत आए जसले हामीलाई विश्वास थपिदियो।
१३ दिनेमा प्रत्येक दिन एकएकवटा पिण्ड दिने परम्परा भएको र पाँचदिनेमा पहिलो दिन एक, दोस्रो दिन चार र तेस्रो दिन पाँचवटा पिण्ड दिइने रहेछ। यो धर्मसिन्धु र निर्णयसिन्धुमा उल्लेख छ। ११ दिनको काम चौथो दिनमा र १२ औं दिनको काम पाँचौं दिनमा गरेर काम सकेका थियौं।
दाजु पनि काममा र म पनि काममा। देशविदेश हिँडिरहनुपर्ने र उतै बस्नु पनि पर्ने भएकाले हामी दुवैले सेतो कपडा लगाएनौं। यो पनि फुकाउन मिल्ने रहेछ। आमाको पनि १३ दिनको काम सकेर हामीले लुगा फुकाएका थियौं। १३ दिनको काम सकेलगत्तै वर्षभरिका मासिक कर्म खिचेर म दुई वर्षअघि क्यानडा फर्किएको थिएँ।
अहिले पनि कतिबेला कता पुग्नुपर्ने हो पत्तो नहुने भएकाले दुवैले वर्षभरिका मासिक कर्म खिचेर काम सकेका छौं। दुईचार महिना गरेर बीचमा छोड्नुपर्ने अवस्था आयो भने त्यसले पनि पिरोल्ने छ, तुस जीवनभर रहनेछ।

परराष्ट्र मन्त्रालयका सहसचिव पोखरेलसँग अन्नपूर्णका गोपीकृष्ण ढुंगानाले गरेको कुराकानीमा आधारित


  •  
  •  
  •